केराबारी गाउँपालिकाको डागी डिपो, हचुवा देवीझोडा सडक कालोपत्रेको लागि ३ करोड बजेट विनियोजन


मोरङ, केराबारी । केराबारी गाउँपालिका अन्तर्गत डागी डिपोदेखि हचुवा देवीझोडा सडक खण्डको कालोपत्रे निर्माणका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

स्थानीयवासीले लामो समयदेखि सडक मर्मत र स्तरोन्नतिको माग गर्दै आएका थिए। वर्षा याममा हिलो र गर्मीमा धूलोका कारण आवागमनमा निकै कठिनाइ हुँदै आएको यस सडकको सुधारले गाउँपालिका भित्रको यातायात र जनजीवनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

यस सडक खण्डले केराबारी गाउँपालिकाका विभिन्न वडाहरूलाई तथा अन्य व्यापारिक केन्द्रहरूसँग जोड्ने मुख्य मार्गको काम गर्छ। सडकको स्तरोन्नतिले कृषिजन्य वस्तुहरूको ढुवानी, बजार पहुँच, र स्वास्थ्य तथा शिक्षा सेवामा पनि सहजता ल्याउनेछ।

सडक कालोपत्रे योजनाको निर्माण कार्य चाँडै टेन्डर प्रक्रियामार्फत थालिने र तोकिएको समयसीमाभित्र सम्पन्न गरिने योजना छ।

प्रतिक्रिया दिनुहोस्