अभिनेत्री दिया पुनद्वारा युरोपको अग्लो हिमाल माउन्ट एल्ब्रसको सफल आरोहण


काठमाडौँ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, शिखकी पुर्ख्यौली घर भएकी अभिनेत्री तथा आरोही दिया पुनले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस (५,६४२ मिटर) को सफल आरोहण गर्नुभएको छ। उहाँले मङ्गलवार बिहान १० बजे हिमालको शिखरमा पुगेर नेपालको राष्ट्रिय झन्डा फहराउनुभएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

हिमालको टुप्पोमा पुग्दा दिएको अनुहारमा गर्व र उत्साह झल्किएको देखिन्छ। दिया पुनको यो आरोहण केवल एक आरोहण नभएर विश्वका सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानको हिस्सा हो।

यसअघि उनले अफ्रिकाको सबैभन्दा अग्लो शिखर किलिमन्जारो (५,८९५ मिटर), दक्षिण अमेरिकाको अकोनकागुआ (६,९६१ मिटर), नेपालकै मनास्लु (८,१६३ मिटर) र सगरमाथा (८,८४८.८६ मिटर) को पनि सफल आरोहण गरिसक्नुभएको छ।

दिया सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली अभिनेत्री समेत हुनुहुन्छ। उहाँको साहस र समर्पणले नेपाली महिलाको पहिचानलाई विश्वभर चिनाउने कार्यमा थप योगदान पुर्‍याएको छ।

आरोही मात्र होइन, सफल अभिनेत्री पनि

आरोहणसँगै अभिनय यात्रा पनि सँगसँगै अगाडि बढाउँदै आएकी दिआ पुन नेपाली चलचित्र क्षेत्रमा पनि चर्चित नाम हो। उहाँले ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’ र ‘मन्त्र’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरिसक्नुभएको छ।

पछिल्लो समय सुपरहिट बनेको चलचित्र ‘दयारानी’ मा उनको अभिनय निकै प्रशंसा योग्य मानिएको थियो। यसपछि आउने तयारीमा रहेको फिल्म ‘एक्लो’ मा उनले अन्तरिक्षयात्रीको चुनौतीपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, जुन नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रयोगका रूपमा हेरिएको छ।

नर्सिङ पेशा र सामाजिक प्रतिबद्धता

हाल बेलायतमा नर्सिङ पेशामा संलग्न दियाले अभिनय र आरोहणसँगै मानव सेवामा पनि समर्पित जीवन बिताइरहनुभएको छ। उहाँको संघर्ष, समर्पण र बहुआयामिक योगदानले नेपाली युवापुस्ताका लागि प्रेरणा बनेको छ।

दिया पुनको जीवन–यात्रा साहस, सृजनशीलता र समर्पणको अनुपम उदाहरण हो। अभिनय, आरोहण र सेवा–यी तीन पाटालाई एकसाथ अघि बढाउँदै गरेकी दियाले ‘सपना देख्न र त्यसलाई पूरा गर्न चाहनेहरू’का लागि एक चम्किलो प्रेरणा प्रस्तुत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्