विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका पक्षमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाली सेनाका उच्चपदस्थ अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय हितको रक्षाका लागि सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो। “सबै क्षेत्र एकजुट भएर अघि बढ्न सकेमा विकास छिटो हुन्छ, सुरक्षा चुनौतीहरू पनि घट्छन्,” मुख्यमन्त्री कार्कीले भन्नुभयो।
उहाँले विकास र सुरक्षालाई सँगसँगै लैजान सक्ने हो भने समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो। “विकास र सुरक्षा समन्वयको आधारमा अघि बढाउनुपर्छ,” उहाँले थप्नुभयो।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना भएयता उल्लेखनीय विकास कार्यहरू भए पनि त्यसको प्रभावकारी प्रचारप्रसार हुन नसकेका कारण आलोचना भोग्नुपरेको बताउनुभयो। उहाँले कोशी प्रदेश सरकारले संघ र स्थानीय सरकारभन्दा बढी काम गर्दै आएको र त्यो क्षमतामा निरन्तर वृद्धि भइरहेको उल्लेख गर्नुभयो।
प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष, पदमार्ग निर्माण, कृषिका नयाँ कार्यक्रम तथा लगानी सम्मेलनले राष्ट्रिय पुँजीको विकासमा योगदान दिने उहाँको भनाइ थियो। उहाँले आगामी वर्ष चिया प्रवर्द्धनका लागि ‘चिया सम्मेलन’ आयोजना गरिने जानकारी पनि दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा नेपाली सेनाले आयोजना गर्ने सबैभन्दा उच्चस्तरीय “हाइ कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स” अन्तर्गत तालिम लिइरहेका उच्चपदस्थ सैनिक अधिकृतहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेनाको वार कलेजका उपरथी सन्तोष वल्लभ पौडेलले तालिम तथा त्यससँग सम्बन्धित विविध गतिविधिबारे जानकारी दिनुभएको थियो।
कार्यक्रममा संघीयता कार्यान्वयन, प्रदेशस्तरीय सुरक्षा चुनौती, विकास निर्माण लगायतका विषयमा पनि गहन छलफल भएको थियो।