डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने


उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएको छ । धिमाल युवा प्रतिभा पुरस्कार छनौट समितिको धिमाल परियोजना स्थल, मङ्गलबारेमा सोमबार बसेको बैठकले धिमाल जाति कै पहिलो एमबिबिएस डा. सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक अजित कुमार धिमालले जानकारी दिनुभयो ।

दमक-२, खरखरे निवासी सजिनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गर्नु भएको हो । मोरङ, झापा र सुनसरीमा बसोबास गर्ने धिमाल समुदायबाट एमबिबिएस उत्तीर्ण गरी समुदाय बाटै पहिलो डाक्टर हुन सफल हुनु भएकाले उहाँको प्रतिभालाई कदर गर्दै धिमाल प्रतिभा पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गरिएको संयोजक धिमालले जानकारी दिनुभयो ।

हरेक वर्ष असार २ गते जातिरी/सिरिजात पर्व समापनकाे अवसरमा आयोजित कार्यक्रमको अवसरमा यो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको महासचिव मातृका धिमालले जानकारी दिनुभयो । युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेको महासचिव धिमालले जानकारी दिनुभयो ।

सम्मानित व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिएको छ । यस अघि बडिबिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दाे खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्