मोरङ, बेलबारी । बेलबारी चेस क्लबको आयोजनामा सम्पन्न बेलबारी प्रथम खुल्ला नगर स्तरीय र्यापिड बुद्धिचाल प्रतियोगिता–२०८२ भव्यताका साथ सम्पन्न भएको छ। प्रतियोगितामा खुला तर्फबाट किशोरदेव राई प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनले नगद रु ११ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
खुला तर्फ द्वितीय स्थान योगेश तुम्बाहाम्फे लिम्बुले प्राप्त गरे। उनले नगद रु ७ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन्। तृतीय स्थान जितबहादुर राईले हासिल गर्दै नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। चौथो स्थानमा मनोज गुरुङ रहे, जसले नगद रु २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। पाँचौँ स्थान एलिस रिजालले प्राप्त गरेका हुन्, उनले नगद रु ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
छैटौँ स्थान जीवन तामाङले प्राप्त गरे भने सातौँ स्थान दिवस तामाङले हासिल गरे। दुवैले नगद रु १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विद्यार्थी तर्फ स्मार्ट लोहोरुङ राई प्रथम भएका छन्। उनले नगद रु ३ हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। द्वितीय स्थानमा सनम कुमार चौधरी रहे, जसले नगद रु २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यस्तै, भेट्रान तर्फ मुनाहाङ राई प्रथम भएका छन्। उनले नगद रु १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। कार्यक्रमको औपचारिक उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईद्वारा भएको थियो । कार्यक्रममा बेलबारी वडा नं.३ का अध्यक्ष योगेन्द्र सुबेदी, वडा ४ का चन्द्र लिम्बु, पूर्व अध्यक्ष राम किराती लगायतको उपस्थिति रहेको थियो ।
बेलबारी चेस क्लबले स्थानीय स्तरमा बुद्धिचाल खेलको प्रवर्द्धन तथा प्रतिभाहरूको पहिचान र प्रोत्साहनका लागि आयोजना गरेको यो प्रतियोगितामा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजकले आभार व्यक्त गरेका छन्।