कोहलपुरमा अज्ञात पुरुष मृत अवस्थामा फेला : प्रहरीद्वारा पहिचानका लागि सहयोगको अनुरोध


कोहलपुर, जेठ १६ । बाँके जिल्लाको कोहलपुर नगरपालिका–१२ स्थित दाउनाचोक नजिकैको दलित सामुदायिक वन क्षेत्रमा एक अज्ञात पुरुषको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मृतकको उमेर करिब ५० देखि ५५ वर्षका बिचमा अनुमान गरिएको छ।

जेठ १६ गते दिउँसो करिब २:१० बजे उक्त वन क्षेत्रको पछाडिपट्टिको साइडमा मृतक पुरुषको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ।

प्रहरीले दिएको प्रारम्भिक विवरणअनुसार, मृतकले खरानी रङ्गको टिसर्ट, कालो कटराइज पाइन्ट, खैरो रङ्गको पेन्टी, र “HATHI” लेखिएको भुवा भएको कालो चप्पल लगाएका थिए। घटनास्थल नजिकै खैरो रङ्गको पिक्याप (टोपी) समेत भेटिएको छ। उनी पहाडी मूलका जस्ता देखिने भए पनि नाम, थर र वतन खुल्न सकेको छैन।

मृतकको शरीरमा कुनै ठुला चोटपटकको निशान देखिएको छैन भने घटनाको कारण प्रष्ट नभएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ।

इलाका प्रहरी कार्यालय, कोहलपुरले मृतकको पहिचानमा सहयोग पुर्‍याउन आम सर्वसाधारणसँग अनुरोध गर्दै भनेको छ, “मृतकलाई चिन्नुहुने व्यक्तिले शीघ्र इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सम्पर्क राख्नुहुन अनुरोध छ।”

प्रतिक्रिया दिनुहोस्