समाजसेवी तथा पूर्व डिएसपी बलबहादुर मगरको निधन : बेलबारी शोकमग्न


बेलबारी, मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग निवासी समाजसेवी तथा नेपाल प्रहरीका पूर्व डिएसपी (उप प्रहरी उपरीक्षक) बलबहादुर मगरको निधन भएको छ। उनी ६८ वर्षका थिए।

शुक्रवार धनकुटा जिल्लाको राजारानी क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमका लागि पुगेका मगरको शनिवार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएको थियो। तत्काल उपचारका लागि अस्पताल ल्याउने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको स्थानीयले जनाएका छन्। प्रारम्भिक जानकारीअनुसार श्वासप्रश्वासमा समस्या उत्पन्न भएको थियो।

पूर्व प्रहरी अधिकृत भएर निवृत्त भएपछि मगर सामाजिक क्षेत्रमा अत्यन्त सक्रिय थिए। उनी डाँगीहाट ब्याडमिन्टन क्लबका अध्यक्ष, न्यू जनएकता बचत तथा ऋण सहकारी संस्था (साकोस) का उपाध्यक्ष, र माउण्ट एभरेष्ट इङ्लिस स्कुलको व्यवस्थापन समितिका अध्यक्ष लगायत विभिन्न सङ्घसंस्थामा आबद्ध भई समाजसेवामा समर्पित थिए।

उनको निधनले स्थानीय स्तरमा ठुलो क्षति पुगेको भन्दै सामाजिक क्षेत्रका प्रतिनिधिहरूले गहिरो शोक व्यक्त गरेका छन्। स्थानीय समाजसेवी, सहकारीकर्मी, शिक्षक, खेलकर्मी लगायत सबैले उनलाई समर्पित, अनुशासित र नेतृत्वदायी व्यक्तित्वका रूपमा सम्झेका छन्।

बेलबारीका वडाध्यक्ष, नगरप्रमुख, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतले मगरको निधनमा दुःख व्यक्त गर्दै समाजले एक कर्मठ र निष्ठावान नागरिक गुमाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्