लेटाङ । लेटाङ नगरपालिका मोरङको एक सुन्दर नगर हो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक रूपले समृद्ध यस नगर, सर्वाङ्गीण विकास तर्फ अग्रसर छ ।
अहिले नगरपालिकाले ६ वटा नगरको गौरवको योजनालाई अघि बढाइरहेको छ । लेटाङ नगरपालिका वडा नं.१ मा निर्माणाधीन अन्तर–धार्मिक शान्ति पार्क, राजारानी ताल सौन्दर्यकरण योजना, मुर्चुङ्गी खोला पक्की पुल, वडा नं.५ मा निर्माणाधीन दश शैयाको नगर अस्पताल, शिक्षा विकास कालोपत्रे र बुद्ध मार्ग रहेका छन् ।
यस नगर गौरवको योजनाले आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । विशेष गरी अन्तरधार्मिक शान्ति पार्क र राजारानी ताल सौन्दर्यकरण योजनाले लेटाङलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न मद्दत गर्नेछ ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीका अनुसार अन्तरधार्मिक शान्ति पार्क निर्माणको मुख्य उद्देश्य राजारानी क्षेत्रलाई बहुधार्मिक गन्तव्य स्थलको रूपमा विकास गर्नु साथै पर्यटकीय आकर्षण बढाउने र धार्मिक सहिष्णुतालाई प्रवद्र्धन गर्ने नै रहेको छ । अन्तरधार्मिक शान्ति पार्कले धार्मिक, सामाजिक सद्भावलाई कायम गर्ने लावती बताउँछन् ।
अन्तरधार्मिक शान्ति पार्कमा किरात, बौद्ध, हिन्दु, इसाई, इस्लाम लगायत विभिन्न धर्मका धार्मिक संरचना निर्माण तथा सामाग्री राखिने छ । साथै धार्मिक गुरुहरूबाट प्रवचनका कार्यक्रमहरू पनि गरिने लावतीले जनाएका छन् । लावतीका अनुसार सबै धर्मका धर्मावलम्बीहरू प्रवचनमा सहभागी हुने छन्, ध्यान र प्रार्थना गर्न अन्तरधार्मिक शान्ति पार्क आउने छन् । अन्तरधार्मिक शान्ति पार्क निर्माणको लागि स्थानीयको महत्त्वपूर्ण योगदान रहेको बताउँदै लावतीले धन्यवाद पनि व्यक्त गरेका छन् ।
लेटाङ नगरपालिकाका प्राविधिक शाखाका प्रमुख भानुभक्त राईका अनुसार फुलमून डेभलोपर्ससँग रु.६ करोड ८८ लाखमा सम्झौता भई अन्तरधार्मिक शान्ति पार्क निर्माणाधीन अवस्थामा रहेको छ । सम्झौताका अनुसार २०८३ कार्तिक भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।
राजारानी ताल क्षेत्र “अर्किड राजधानी” को उपमाले पनि परिचित छ । जैविक विविधता, विशेष गरी अर्किड फूलहरू, धार्मिक स्थलहरू र ऐतिहासिक पृष्ठभूमिका कारण राजारानी तालको क्षेत्र पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
राजारानी ताल सौन्दर्यकरण योजनाको लागि सि.एम.स्लेट.जोशी.जे.भीसँग रु.५ करोड ६० लाख ९८ हजारमा सम्झौता भएको छ । २०७८ बाट सुरु भएको योजनाको काम, यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
राजारानी ताल सौन्दर्यीकरण योजना प्राकृतिक सौन्दर्य, जैविक विविधता, र सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छ । तर अर्किडको राजधानी राजारानीमा, अर्किड संग्राहलयको अभाव रहेको छ । अर्किड संग्राहलयको निर्माण गर्ने हो भने राजारानीमा पाउने ४७ प्रजातिका सुनाखरीको बृहत् जानकारी देशलाई मात्र नभएर विश्वलाई नै प्रदान गर्न सकिने लेटाङ वडा नं.१ का अध्यक्ष विष्णु कुमार मगर बताउँछन् ।
दश शैया नगर अस्पताल रु.९ करोड ९९ लाख ३६ हजारमा प्रेरा एच.एम कन्स्ट्रक्सनसँगै सम्झौता भई २०७८ देखी अझै निर्माणाधीन अवस्थामा रहेको छ । यस आर्थिक वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्न गर्ने नगरपालिकाको योजना रहेको छ । मुर्चुङ्गी खोला पक्की पुल रु.२ करोड ९७ लाख ६८ हजार, शिक्षा विकास कालोपत्रे रु.१ करोड ९ लाख र बुद्ध मार्ग रु.९९ लाख २९ हजारमा सम्झौता भई निर्माण कार्य भइरहेको छ ।
क्रमश लेटाङको पुर्वधार विकास तर्फ हेर्ने हो भने वडा नं.६ बुधबारे सडक, वडा नं.२ मा बुधबारे हाट बजार टहरा, गुवाबारी वाराङ्गी सडक, वडा नं.८ मा जाते हाटबजार, वडा नं.९ मा जनस्वास्थ्य केन्द्रको भवन लगायतको निर्माण कार्य जारी रहेको छ । अनुगमन कार्यमा नगरपालिकाले कडाइ गरी रहेको छ । नगर उपप्रमुख कृष्णा कुमारी पोखरेल निरौलाको नेतृत्वमा पारदर्शी तथा निष्पक्ष अनुगमन कार्य हुने गरेको नगर प्रमुख लावती बताउछन् ।
विकास कार्य योजनाको अनुगमन तथा अवलोकन नगरपालिकाले राजनीतिक दलहरूका प्रतिनिधि, स्थानीयसहित गर्ने संस्कार पनि निर्माण गरेको छ । अनुगमन तथा अवलोकन पश्चात् प्राप्त हुने सुझाव तथा प्रतिक्रियालाई बौद्धिक सम्पत्तिको रूपमा ग्रहण गर्दै कार्यान्वयन गर्ने नगरप्रमुख लावती बताउँछन् । समृद्ध नगर, सुखी नगरवासीको लक्ष्य तर्फ लावतीको नेतृत्वको जनप्रतिनिधि सबै अग्रसर देखिन्छन् ।