बेलबारी । उभौली साकेला पर्वको आरम्भसँगै आज (सोमबार) वैशाख पूर्णिमाको दिन किरात राई यायोक्खा बेलबारीले साकेला थानमा विधिवत् पूजा गरी शुभकामना आदानप्रदान गरेको छ । पूजासँगै राईहरूको परम्परागत खानाका परिकार ग्रहण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उभौली साकेला पर्वको आरम्भको अवसरमा उक्त कार्यक्रममा किरात राई यायोक्खा बेलबारीलाई हर्कराज राई र कमला राईको परिवारले साकेला सिल्ली नृत्य मञ्च निर्माण गरी हस्तान्तरण गरेका छन् । मञ्चको औपचारिक उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गरे । उद्घाटन पछि साकेला नृत्य प्रस्तुत गरियो ।
उक्त मञ्च राई परिवारले बुवा स्व. टेक बहादुर राई र जेठा दाइ स्व. वीर बहादुर राईको सम्झनामा स–परिवारले बेलबारी वडा नं.३ मा रहेको किरात राई यायोक्खाको धार्मिक स्थलमा निर्माण गरी दिएको, किरात राई ययोक्खा बेलबारीले जानकारी दिएको छ ।
बेलबारी नगरपालिकाका नगर प्रमुख राईले उभौली साकेला पर्वको शुभकामना व्यक्त गर्दै साकेला सिल्लीको सबै शास्त्रीय मोहत्वलाई जोगाउनु पर्ने बताएका छन् । साकेला नृत्यसँग सिल्लीको शास्त्रीय मोहत्वलाई जोगाउन सके मात्र सधैँ किरातीहरूको सिङ्गो संस्कृति पहिचान संरक्षित हुने उनले बताए ।
कार्यक्रम किरात राई यायोक्खा बेलबारीको अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न भएको हो । जेठ ८ गते किरात राई ययोक्खा बेलबारीको धार्मिक वनमा उभौली साकेला नृत्य कार्यक्रम हुने अध्यक्ष राईले जानकारी दिएका छन् ।
फोटो फिचर – शिशिर राई