‘सुनौलो जून’ हाइकुसङ्ग्रहको लोकार्पण : इरान राईलाई सम्मानित


मोरङ । पूर्वाञ्चल हाइकु सङ्घ कोसी प्रदेशद्वारा प्रकाशित कृति ‘सुनौलो जून’ को लोकार्पण भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा उक्त कृति (हाइकुसङ्ग्रह) को लोकार्पण गरिएको हो ।

अग्रज सामाजिक तथा सांस्कृतिक व्यक्तित्व, वरिष्ठ साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संविधान सभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जिलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा–प्रतिष्ठानका सचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो), लेखक तथा साहित्यकार केशु विरहीले, स्रष्टाहरू धनजीत पराजुली, दीप मङ्ग्राती, मुना मिश्र, यादव भट्टराईलगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

लोकार्पित पुस्तकमाथि राजेन्द्र प्रधान पासाको समीक्षा रहेको थियो । कार्यक्रममा चूडामणि नेपाल अकिञ्चन, डी.बी. बस्नेत, एवाइ प्रभात, नवराज पोखरेल ‘नवशिला’, कृष्ण गौतम, टीका मिलन, हिरा खड्कालगायतका स्रष्टाहरूले रचनावाचना गरेका थिए ।

कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईलाई सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वाञ्चल हाइकु सङ्घ कोसी प्रदेशका सदस्य सिजन श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष तिला लेकाली र सञ्चालन भने उपाध्यक्ष हेमसागर पोखरेलको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्