सुन्दरहरैँचा । किरात याक्थुङ चुम्लुङको २६ औँ राष्ट्रिय चुम्लुङ मुन्धुम शिक्षा विशेष राष्ट्रिय चुम्लुङ मोरङको सुन्दरहरैँचामा हुँदै छ । यस पटक राष्ट्रिय चुम्लुङ कियाचु सङ्घीय कार्य समितिको आयोजना, मोरङ जिल्ला समितिको व्यवस्थापन र नगर समितिको सहव्यवस्थापनमा सुन्दरहरैँचामा हुन लागेको हो ।
राष्ट्रिय चुम्लुङ वैशाख २६ र २७ गते हुने कियाचु सङ्घीय कार्य समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कियाचुका अनुसार उद्घाटन सत्रपछि २ दिन लगातार सम्पन्न हुने बन्द सत्रमा मुख्य रूपमा नेपालमा मुन्धुम शिक्षा स्थापना र सञ्चालनबारे छलफल हुने किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन बताए ।
महासचिव निरन्ती तुम्बापो अनुसार छलफलमा प्रतिनिधिमूलक २३० जना भन्दा बढीको सहभागिता रहने कियाचुले जनाएको छ । साथै मुक्कुम्लुङ बचाउ सङ्घर्ष, नो कवलकार, प्रदेश नं.१ को नाम कोशी खारेजी र लिम्बुवानसहितको ऐतिहासिक पहिचानको पुनः नामाङ्कन सङ्घर्ष, प्रदेश नं.१ मा लिम्बु भाषा सरकारी कामकाजी भाषाको कार्यान्वयन, लिम्बु भाषा पठनपाठनको विषय, कियाचुको साङ्गठनिक र नीतिगत विविध विषयमा छलफल गरी एक वर्षे नीति तथा कार्यक्रमहरूको टुङ्गो लगाउने महासचिव तुम्बापोले जनाएकी छिन ।