मोरङ । कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेको कानेपोखरीमा गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले विरोध जनाएको छ । धिमाल समुदायको आस्थाको केन्द्र कानेपोखरी (कानी बेराङ, धिमाल शक्तिशाली महिलाको अलिखित इतिहास बोकेको स्थल) मा गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिले विभिन्न संरचना निर्माण गर्न खोजिएको प्रति धिमाल समुदायले शनिवार पत्रकार सम्मेलन गरी विरोध जनाएको हो ।
कानेपोखरी स्थित ग्रामथान परिसरमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा महाराजथान संरक्षणका लागि उपस्थित अभियन्ताहरूलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समेतले धम्कीको भाषा प्रयोग गरेको घटना प्रति पनि भर्त्सना गरिएको छ । विज्ञप्तिमा भनिएको छ “कानेपोखरी धिमाल समुदायको आस्थाको केन्द्र हो । धिमाल समुदायसँग विना छलफल, विना अनुमति ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ विपरीत कार्य हो ।
धिमालहरूको धार्मिक, सांस्कृतिक मिथक तथा ऐतिहासिकता जोडिएको स्थललाई नामेट पार्ने स्थानीय सरकारको गैरजिम्मवार र हेपाहा प्रवृत्तिको घोर भर्त्सना गर्दछौ ।” कानेपोखरी महाराजथानकाे इतिहास, संस्कृति, मिथकहरूलाई समाप्त पार्ने ध्येयका साथ गाउँपालिकाले कहिले कानको स्तम्भ बनाउने, कहिले विभिन्न व्यावसायिक संरचना निर्माण गर्ने अदूरदर्शी कदमलाई सच्याउन पनि विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । समुदायको अनुरोधलाई बेवास्ता गरे थप सङ्घर्षका कार्यक्रमहरू समेत सार्वजनिक गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष केदार धिमाल, सचिव अजित कुमार धिमाल, सचिवालय सदस्य पम्फा धिमाल, नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय समिति, मोरङका उपाध्यक्ष भोजवीर माझी, थारु कल्याणकारीकी सभाका केन्द्रीय पार्सद लक्ष्मण चौधरी, धिमाल जातीय विकास केन्द्र, जिल्ला समिति मोरङका अध्यक्ष ब्रेमलाल धिमाल, नेपाल आदिवासी जनजाति महासङ्घ, कानेपोखरी गाउँपालिका समन्वय समितिका अध्यक्ष खुलूँ राजवंशी, सचिव कमला याेन्जन, धिमाल जातीय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समितिका अध्यक्ष राजकुमार धिमाल, धम्कुवा गाउँ टोल समितिका अध्यक्ष जन्तलाल धिमाल लगायतको उपस्थिति रहेको थियो ।