प्रकाश राई भन्छन्, ‘धरानमा नेकपासँग कसैको प्रतिस्पर्धा नै छैन’


धरान, ११ मङ्सिर / पूर्व, पश्चिम र उत्तरमा पहाड । दक्षिणतिर तराईसँग जोडिएको चारकोशे झाडी । दुवै तर्फ खोला । पश्चिममा सर्दु र पूर्वमा सेउती । पूर्वी पहाड र तराईको संगम स्थल (भाबर प्रदेश) तथा समशीतोष्ण हावापानी । पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारलाई सिरानी हालेर सर्दु र सेउती खेलाकोबीचमा लमतन्न पल्टेको छ, धरान । धरानको भौगोलिक परिचय यही हो । भौगोलिक रूपमा धरानको परिचय जति सुन्दर छ, सामाजिक र संस्कृति रूपमा पनि उस्तै सुन्दर र विशिष्ट छ । त्यो धेरै परिचय मध्ये एउटा परिचय हो, ‘लाहुरेको सहर ।’ यही सहरमा छाती नपाएर कति लाहुर गए, कति हराए, कति फर्किए ? गनीसाध्य छैन । बेहिसाब छ ।

पहिलो र दोस्रो विश्वयुद्धमा हजारौँ युवाहरू युद्ध लड्न गए । धेरै बिरानो देशमा मारिए, बेपत्ता भए । बाँचेर फर्केका अधिकांश पूर्वेलीहरूले यही सहरलाई बुढ्यौली बिताउने सहरको रूपमा रोजे । दोस्रो विश्वयुद्धपछि आफ्नो पुर्खाका पदचाप पछ्याउँदै यहाँका अधिकांश युवाहरूले उही लाहुर अर्थात् लाहुरे जिन्दगी रोजे । अधिकांश युवाको सपना बन्यो, लाहुर । ती मध्ये अपवाद थिए, लाहुरेकै छोरा प्रकाश राई । उनले आफ्नो बुबाले हिँडेको बाटो रोजेनन् । छाती नाप्ने १९र२० वर्षको उमेरमा उनले अलग बाटो रोजे । अप्ठ्यारोबाटो अर्थात् आन्दोलनको बाटो । प्रकाश भन्छन्, ‘अरूले छाती नपाइरहेको बेला मैले देशको निम्ति आफ्नै माटोमा रगत र पसिना बगाउने कसम खाएँ ।’ कसम अर्थात् उनी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोेअर्डिनेशन केन्द्र ९को।के०मा सामेल भएर उनी कम्युनिस्ट आन्दोलनमा सामेल भए । उतिबेलाका शासकको नजरमा उनी अराष्ट्रिय भए ।

हालका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, चर्चित कम्युनिस्ट नेता सीपी मैनाली, रामचन्द्र यादव, अमृत बोहराहरूले २०३२ सालमा निर्माण गरेको कोेअर्डिनेशन केन्द्रको सम्पर्कमा २०३६ सालमा नै आबद्ध भएका पार्टीका हुनाहार नेता प्रकाश राई धराने जनताका बिचमा लोकप्रिय नाम हो । व्यवस्था परिवर्तन र समाज रूपान्तरणको सुन्दर सपनासहित समाजसेवामा होमिएका राई अहिलेसम्म कुनै लाभको पदमा लोभिएनन् २०३६ सालदेखि आजसम्म अभियान र आन्दोलनमा अनवरत लागेका राईलाई नेकपाले धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयर पदका लागि उम्मेदवार बनाएको छ । जनताको घरदैलोमा व्यस्त राईका एजेन्डा र धरानलाई संवृद्धि बनाउने विषयमा उहाँका प्रतिपद्धाको विषयमा गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँका चुनावी एजेन्डाहरू के छन् ?

हाम्रो पार्टीलाई यहाँका जनता, नागरिक, धरानवासीहरूले पाँच वर्षका लागि जनमत दिएर पठाउनुभएको हो । तर बिचमा हाम्रा नगर प्रमुखको असामयिक निधन भएका कारण अहिले हामी आसन्न निर्वाचनमा छौँ । र, आज मलाई पार्टीले मेयर पदको उम्मेदवारका रूपमा त्यहाँ पठाउँदैछ । हामीले त्यतिबेलाको घोषणापत्र, प्रतिबद्धतापत्रमा तयार पारेको कुराहरूलाई पूरा गर्नु मेरो जिम्मेवारी रहन्छ । ती प्रतिबद्धतापत्रहरूको विशेष विषयगत कुरा गर्दा धरानबारे हामीले एउटा स्वच्छ सफा हराभरा धरानको कुरा गरेका छौँ । यस्तै शिक्षाको एउटा हब बनाउने कुरा गरेका छौँ । पर्यटन प्रवर्द्धन, धार्मिक पर्यटन प्रवर्द्धनका कुरा पनि गरेका छौँ । त्यस्तै हामीले हाम्रो धरान भौगोलिक विविधताका रूपमा रहेकाले यहाँ कृषिको कुरा गरेका छौँ । वडा ६, वडा ५ र वडा २० लगायतलाई हामीले नगदेबाली तथा अन्य बालीको पनि विशेष किसिमले प्रोत्साहन गरिनुपर्छ र त्यसलाई प्याकेज बनाइनुपर्छ भनेर कुरा गरेका छौँ ।

अहिले एसियाकै मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि विविध किसिमले हामीले प्रवर्धन गर्ने कुरा गरेका छौँ । यसका साथै युवाहरूलाई प्रवर्द्धन गर्न खेलकुद र खेलकुद ग्रामको कुरा गरेका छौँ । यसका साथै सरसफाइका सवालमा हामीले धरानबाट निस्कने फोहोरमैलालाई प्रशोधन गरेर वडा ६ बाट घरघरमा सिलिन्डर भरेर जाने खालको ग्यास निकाल्ने र त्यसबाट कम्पोस्ट मल उत्पादन गर्ने योजना पनि बनाएका छौँ । यस्ता विभिन्न कुराहरूसँगै खानेपानी योजना विगतदेखि नै सुरुवात गरेका छौँ । त्यसलाई हामीले एकीकृत सहरी विकास परियोजनासँग पूरा गर्दै छौँ । हामीले धेरै पहिला हाम्रा तत्कालीन नेकपा एमालेका मेयर मनोजकुमार मेन्याङ्बोको पालामा एउटा बसपार्कको योजना सुन्दरबस्तीमार्फत गरेका थियौँ । त्यो बसपार्कका हरेक समस्या झेलेर हामीले अहिले शिलान्यास गरेका छौँ । त्यहाँ डीपीआर तयार भइरहेको छ । त्यसको हामीले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको साझेदारीमा सुरुवात गर्दैछौं । यी र यस्ता अन्य थुप्रै कुरा छन्, जस्तै स् सामान्य बाटोघाटो निर्माण, कल्भर्ट निर्माण आदि । ती कुरा पनि पूरा गर्नुपर्ने मेरो प्रतिबद्धता हो ।

घरदैलो अभियानमा जनताले यहाँहरूबाट के–कस्तो आशा र अपेक्षा राखेको पाउनुभएको छ ?

निर्बाध रूपमा अब हाम्रो विविध विचार रहेका छन् । सामान्य नागरिकहरूदेखि लिएर यहाँ प्राज्ञिकहरू बस्ने ठाउँ हो । यहाँ कलेज तथा युनिभर्सिटीहरू भएकाले आफ्नो स्तरअनुसारका सामान्य नागरिकहरूले दिनहुँ आइपर्ने रोजगारका कुराहरू उठाउनुभएको छ । सामान्य बाटोघाटोको कुरा उठाउनुभएको छ । शैक्षिक कुराहरूको विषयमा सामुदायिक विद्यालयहरूमा भौतिक संरचनाहरूको कुरा उठाउनुभएको छ । अन्य प्राइभेट स्कुलको दाँजोमा सामुदायिक विद्यालयलाई लान पहल गर्नुपर्छ भन्ने कुराहरू उठाउनुभएको छ भने प्राज्ञिकहरूले दीर्घकालीन भावी योजनाका कुराहरू उठाउनुभएको छ ।

प्रचार प्रसारको समयमा जनतामा उपनिर्वाचनको उत्साह कस्तो पाउनुभयो ?

ज्यादै उत्साह छ । अहिले नै विजय जुलुसको अवस्था देखापरेको छ । मैले हेर्दा सुरुवातदेखि अहिले नै विजय भएजस्तो अवस्था गलामा मालाहरूले एकदमै ढाकिरहेको अवस्था छ । जहाँ जाँदा पनि अहिले सम्मान गरिरहनुभएको छ । हामीले अहिले सम्मान होइन, मत दिनुहोस् भनेका छौँ । डेढ वर्षसम्म अभिभावकविहीन भएर बसेको अवस्था थियो ।

वहाँहरूले पाँच वर्षमा हामीले गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ भनेर चुनेर पठाउनुभएको हो । उक्त प्रतिबद्धता नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्नुपर्छ भनेर सोचिरहेको अवस्था हो । त्यसो भएको हुनाले पनि उहाँहरूले अभिभावकविहीन अवस्थामा एउटा प्रतिनिधि आउँदैछ र लामो समयदेखि यस धरानमा बसेको प्रतिनिधित्व गर्ने स्थानीय मान्छे आउँदैछ । चिनजानको हैसियतले पनि उहाँहरूले धेरै अपेक्षा गर्नुभएको छ । उत्साहित पनि हुनुहुन्छ ।

तपाईँ धरानको मेयरमा निर्वाचन भएपश्चात् त्यहाँको विकासका लागि के–कस्ता एजेन्डा छन् ?

विकास भन्नाले दीर्घकालीन विकास र अल्पकालीन विकासहरू छन् । त्यसमा भौतिक संरचनाका कुराहरू छन् । अन्य सामाजिक विषय पनि छन् । यसमा भौतिक निर्माणको विषयमा बाटोघाटोको अवस्था रहेको छ । बाटोहरू स्तरोन्नतिका कुराहरू छन् । मनोवैज्ञानिक र स्तरोन्नतिको कुराका साथमा सरसफाइको कुराहरू छन् । यहाँको मानिसहरूलाई मनोवैज्ञानिक रूपमा सकारात्मक कुरामा लान सक्नुपर्नेछ । हाम्रा केही साथीले पाँच वर्षमा एक पटक खेती गर्ने गर्नुहुन्छ, कुर्सीमा पुग्न उहाँहरूले धेरैजसो नकारात्मक कुराहरू जनतामा लाने गर्नुभएको छ । हाम्रो पार्टीले र मैले सकारात्मक कुरामा जोड दिने गरेका छौँ । ती सबै कुरा पूरा गर्न मेरो प्रतिबद्धता रहनेछ ।

तपाईँलाई किन मत दिने ?

मलाई नै भन्दा पनि विशेषगरी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई जिताउने हो । दोस्रो कुरा, नेकपाको धरानमा म आफू पार्टीमा लागेको ३५ वर्षदेखि निरन्तर लागिरहेकाले पार्टीमा एउटा अग्रज, एउटा सरल, इमानदार कार्यकर्ता भएकाले पार्टीले मलाई पत्याएको हो । धरान भनेको एउटा सानो सहर हो । आपसी घनिष्ठता रहेको सहर भएकाले यो सहरमा म आफू अधिकतम मात्रामा चिनजान रहेको अवस्थाले मैले बोकेको एजेन्डाहरूप्रति आश्वस्त र विश्वस्त हुनुहुन्छ ।
धरान हिजोदेखि नै वामपन्थीहरूको केन्द्र भएका कारण र अहिलेसम्म कुनै पनि जनप्रतिनिधि वामपन्थीबाहेक अरू कुनै विचार राख्ने मान्छेको नजितेको अवस्थाले गर्दा पनि यो निरन्तरता रहन्छ र विगतमा हाम्रा जनप्रतिनिधिले गरेका कामहरू छन् । ती कामका हिसाबले हामीले यहाँको जनताको मत प्राप्त गरेका छौँ । हामीले कहीँ पनि कमीकमजोरी नगरेकाले पनि जित्छौँ भन्ने विश्वास छ ।

नेकपा सत्तामा रहँदा पनि उल्लेखनीय कामहरू गर्न सकेका छैनन् भनेर प्रतिपक्षहरूले आरोप लगाउँदै आएका छन्, तपाईँ नेतृत्वमा पुगिसकेपछि यसलाई कसरी चिर्नुहुन्छ ?

प्रतिद्वन्द्वी साथीहरू र हाम्रो आस्थाको विरोध गर्ने साथीहरूले जनतालाई नकारात्मक कुराहरू लगेर राख्ने कार्य गरिरहनुभएको छ । हामी उहाँहरूलाई के भन्न चाहन्छौँ भने हिजोको र पहिलेको धरानको सवालमा साथमा दुई वर्षअगाडिको मात्रै धरानको विचार गर्ने हो भने यहाँ अहिले संघबाट, प्रदेशबाट बजेटहरू आइरहेको कुरालाई उहाँहरूले मूल्याङ्कन गर्न जरुरी छ । तर, उहाँहरूले नचाहिँदा र बिनाप्रमाणका कुराहरू आक्षेप लगाइरहनु भएको छ ।

ती साथीहरूलाई हामीले सकारात्मक विचारले सकारात्मक कामले जवाफ दिनुपर्ने जरुरी रहेको छ र म अहिले पनि भन्न चाहन्छु प्रदेशबाट, सङ्घीय सरकारको सहयोगबाट झन्डै हामीले आठवटा पुल निर्माण गरिरहेका छौँ । हामीले अहिले सर्दु र सेउतीमा क्रमागत हाम्रो बजेट ल्याउने गरी कार्य भएको छ । यसपालि ५५ करोडको बजेट विनियोजन भएकोले कार्य सुरु गर्दै छौँ । अब प्रदेशबाट लगानी गरेर खेलग्रामको कुराहरू भइरहेको छ । त्यसै गरी हामीले यस पटकदेखि बसपार्कको कार्य सुरु गरिरहेका छौँ । त्यसपछाडि हामीले कृषिग्रामको कुरा पनि गरिरहेका छौँ । त्यो कृषिग्राम वडा ६ मा सुरु गर्दै छौँ । यी विविध कुरा हेर्दाखेरि उहाँहरूको हामीलाई लगाएको लाञ्छना मात्रै हो भनेर म प्रमाणित गर्छु ।

धरानलाई केन्द्रीय सरकारसँग अझ नजिक बनाउन यहाँले के कस्तो भूमिका निर्वाह गर्नुहुनेछ ?

स्वाभाविक रूपमा हिजोका दिनमा हामीलाई पनि त्यस्तो लाग्थ्यो । जंगलभन्दा माथिको आइसल्यान्ड हो कि भन्ने जस्तो लाग्थ्यो तर अहिले हामीले यो नयाँ संविधानको संरचना बनेदेखि प्रदेश, सङ्घ र स्थानीय सरकार बनेदेखि यो महसुस गरेका छैनौँ । किनभने, हामीले अहिले प्रदेश र संघसँग निरन्तर आपसमा हाम्रो समझदारी भइरहेको अवस्था छ । अहिले आएर प्रदेशमा पनि धरानकै क्षेत्र १ ९क० बाट विजयी हुनुहुने नेता सभामुख हुनुहुन्छ । हामीले माननीयका रूपमा सङ्घमा पनि जयकुमार राईलाई पठाएका छौँ । त्यहाँबाट पनि प्रशस्त रूपमा बजेटहरू र शिक्षा क्षेत्रमा सामग्री प्राप्त भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हामीलाई हस्पिटलसँग सम्बन्धित सबै सामान उहाँहरूले प्रदान गरिरहनुभएको छ । जुन हिजोको अवस्थाभन्दा अहिले प्रदेश र संघसँग स्थानीय सरकारलाई जोडेको अवस्था छ । किनभने, तिनै तहमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार छ, जसको हिसाबले पनि हामीलाई हिजोको लाञ्छना मात्र रहेको अवस्था अहिले छैन ।

तपाईँ मेयरमा विजयी भएर नेतृत्व तहमा पुगिसकेपछि आफ्ना प्रतिबद्धताहरूलाई के–कसरी लागू गर्नुहुन्छ ?

निर्बाध रूपमा अक्षरशः पालना गर्नेछु । किनभने, म अहिलेसम्म कहिले पनि संवैधानिक अंगमा गएको मान्छे होइन । र, एकदम आशा गरेर अपेक्षा गरेर बसेको हिजोका नागरिक भएकाले म त्यसभित्र पर्ने मान्छे हुँ । म त्यो कुर्सीमा गएँ भने त्यसलाई क्रमागत रूपमा १, २, ३ गरेर प्रतिबद्धतालाई पूरा गर्नेछु । त्यो प्रतिबद्धतालाई पूरा गर्न म पार्टी र माथिल्लो नेतृत्व, स्थानीय सरकार र सम्बन्धित विषयका विज्ञहरूसँग, नागरिकहरूसँग व्यवसायीहरूसँग सहकार्य गरेर ती सबै कुरालाई पालना गरेर, सहकार्य गरेर व्यवस्थापन गरेर पनि निर्विवाद रूपमा लागू गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्