शुल्क विवादमा शिक्षा मन्त्रालय र मेडिकल कलेजबिच सहमति


काठमाडौँ, १० मङ्सिर / मेडिकल शिक्षाको शुल्क विवादका विषयमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबिच सहमति जुटेको छ । लामो समयको रस्साकस्सी पश्चात् मंगलबारराती शिक्षा मन्त्रालयको टोली र मेडिकल कलेजका सञ्चालकबिचको बैठकमा सहमति जुटेपछि शुल्क विवाद समाधान उन्मुख भएको हो ।

सहमतिअनुसार मेडिकल कलेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा बुधवारबाट अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् । यता, ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने उल्लेख छ । ०७६/०७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिएर विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया थाल्ने भनिएको छ । त्यस्तै, ०७७/०७८ र त्यसपछिका वर्षमा भने वैज्ञानिक ढङ्गले शुल्क निर्धारणका लागि आयोगबाट कार्य अघि बढाउने सहमति पत्रमा उल्लेख छ ।

छलफलका क्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजको समस्या समाधानमा जोड दिईएपनि काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा खासै समस्या नरहेको अधिकांशको ठहर थियो । बैठकमा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका महासचिव एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माको ‘फर्मुला’ ले शुल्क विवाद समाधानमा काम गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र निजी मेडिकल कलेज सञ्चालक डा.सुनिल शर्मा, सुरेश कनोडियो, बसरुद्दिन अन्सारी लगायत सहभागी थिए ।

बैठकपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुल्क समायोजनसँगै चिकित्सा शिक्षामा देखिएको विकृति समाधान हुने दाबी गरेका छन् । ‘समस्या समाधान भइसकेको छ ।’ उनले भने ‘अब विद्यार्थीले आन्दोलन रोकेर शैक्षिक गतिविधिलाई अघि बढाउन सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्