मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ७ गाेठगाउँ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नयाँ शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको छ । सुन्दरहरैँचा नगरपालिकाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको हो ।
भारत सरकार तथा सुन्दरहरैंचा नगरपालिकाको संयुक्त लगानीमा बन्न लागेको उक्त भवनको शिलान्यास गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईँ , विद्यालय व्यवस्थापन समिति अध्यक्ष पाेष्टकुमार श्रेष्ठ तथा भारतीय राजदूतावास द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा बन्न लागेको भवनको शिलान्यास गरेका थिए ।
करिब ३ करोड २८ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको सो भवन २०८३ सालको वैशाख मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको श्री पञ्चायत माविका प्रधानाध्यापक खगेन्द्र रायमाझीले जानकारी दिए । कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने , नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्री,मनमोहन प्राविधिक विश्वविद्यालयका सिनेटर सत्यनारायण चौधरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम नगर उपप्रमुख अकली चौधरिको स्वागत मन्तव्य तथा नगरपालिका कर्मचारी लक्ष्मी पोखरेलको सञ्चालनमा भएको थियो । श्री पञ्चायत माविकाे स्थापना २०२१ सालमा भएको हो । विद्यालयमा हाल ७ सय भन्दा बढी विद्यार्थीका साथमा ४१ शिक्षक तथा कर्मचारी रहेका छन् । नगरको पुरानो सामुदायिक विद्यालयका रूपमा परिचित यस विद्यालयमा + २ सम्मको पढाइ हुने गरेको छ ।