सिजन श्रेष्ठको हावामा अल्झिएको स्वरले पायो गामबेंसीका कवि युवा साहित्य पुरस्कार


सुन्दरहरैँचा / कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१ बाट मोरङको सुन्दरहरैंचाका युवा कवि सिजन श्रेष्ठ पुरस्कृत भएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा नगद ५० हजारका साथमा ट्रफी र मेडल कवि श्रेष्ठले पाएका हुन् । गुरुकुल एजुकेसन फाउण्डेसन एण्ड नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने सो पुरस्कारका लागि अन्तिम चार कविता सङ्ग्रहको सूची आयोजकले सार्वजनिक गरेको थियो । श्रेष्ठको कृति हावामा अल्झिएको स्वरका साथै साहित्यकार पल्लबिबको लाटी, सुभासिसको क र सुरज रानाको जब कविता निस्कन्छ जुलुसमा नामक कृति छनोटमा परेका थिए । तीमध्ये हावामा अल्झिएको स्वरका लागि श्रेष्ठले सो पुरस्कार पाएका हुन् ।

प्रकृतिप्रेमी गाउँले कविको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुन पाउँदा कविता लेखनमा २२ वर्ष गरेको साधनाको सही पहिचान तथा मूल्याङ्कन भएको महसुस गरेकोले कविता र साहित्य लेखनमा अझै थप जिम्मेवारीबोध गरेको कवि श्रेष्ठले उल्लेख गरे ।

यस पुरस्कारले युवा साहित्यकारहरूलाई प्रेरणा र हौसला प्रदान गर्ने विश्वास गरिएको आयोजकले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्