कानेपोखरी । कानेपोखरी गाउँपालिकाले रु.७ लाख ६३ हजार बराबरको कृषि उपकरण औजार वितरण गरेको छ । गाउँपालिकाले ४ प्रकारको औजार ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
आइतबार २२ थान च्यापकटर मेशिन, १० थान काउम्याट, ११ थान हवीलव्यारो र एक थान डिजिटल काँटा वितरण गरेको छ । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले उपकरणको अधिकतम उपयोग गरी व्यावसायिक कृषिको विकास गरेर लाभ लिन आग्रह गरेकी छिन । विगतमा उपकरण प्राप्त गरेकाले बेचेको प्रमाण पनि भेटिएकोले, भावी दिनमा त्यस्तो कार्य नगर्न कृषकलाई आग्रह गरेकी छिन ।
गाउँपालिकाले कृषि सेवा तथा पशु शाखा मार्फत कृषकहरूलाई उपलब्ध गराउने सेवा सुविधा प्रदान गर्न सार्वजनिक रूपमा सूचना प्रदान गर्ने गरेको इङ्गनामले बताइन । गाउँपालिकाको सेवा सुविधाबाट वञ्चित नहुन र एकै जनाले धेरै पटक दोहोराएर लाभ उपभोक गर्ने संस्कारको अन्त्य गर्न आमजनताको अनिवार्य सूचनाको पहुँच निर्माण गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन ।
व्यावसायिक कृषिको विकासको लागि विगतदेखि नै कृषि सेवा तथा पशु शाखा मार्फत विभिन्न कृषि औजार वितरण गरिरहेको गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बताए । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निरन्तर गाउँपालिकाले आवश्यक कृषि सामाग्री वितरण गरिरहने अधिकारीले बताएका छन् ।
उपकरण नपाउँदा गुनासो तर पाउँदा दुरुपयोग नगर्न वडा नं.५ का वडाध्यक्ष चरण गुरुङको आग्रह रहेको छ । कसैले झुक्किएर पनि गाउँपालिकाको लगानी गरेर प्रदान गरेको उपकरण बेच्ने कार्य नगर्न गुरुङले आग्रह गरे ।
उपकरण पाए पछि कृषकहरू खुसी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद प्रदान गरेका छन् । साथै बजारको उचित व्यवस्थापन नहुँदा नोक्सानी बेहोर्नु पर्ने पिडा रहेको स्थानीय कृषकहरू बताउँछन् । बजारको अभावलाई निराकरण गर्न स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले उचित व्यवस्थापन गर्न स्थानीय कृषकहरूको माग रहेको छ ।