बेलबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेलबारीको अध्यक्षमा मनकुमार गुरुङ निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बेलबारीको सम्पन्न दोस्रो नगर अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन ।
गुरुङका निकटतम प्रतिस्पर्धी लक्ष्मण तामाङ ८ मतान्तरले पराजित भएका हुन । गुरुङलाई २७ मत खस्दा तामाङले १९ मत प्राप्त गरेका छन् । यस अघि गुरुङ नगर कमिटीको उपाध्यक्ष र तामाङ सचिव थिए । माओवादी केन्द्रको पार्टी निर्वाचन संसदीय निर्वाचन प्रणालीसँग मिल्दो रहेको छ । बेलबारी नगरपालिकाबाट छनोट भएका २३५ प्रतिनिधिबाट चयन भएका ४९ नगर कमिटी सदस्यले मतदान गरेर पदाधिकारी निर्वाचित गरेका हुन ।
त्यस्तै उपाध्यक्षमा राम कुमार राई पुनः निर्वाचित भएका छन् । धर्म प्रसाद जमरकट्टेल पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । राम र धर्मले गणेश अधिकारी र मनोज राईलाई पराजित गरेका हुन । रामलाई ३० मत र धर्मलाई २१ मत खस्दा, गणेशले १८ र मनोजले १९ मत प्राप्त गरे ।
महिला उपाध्यक्षमा मन्दिरा थापा, सचिवमा नगेन्द्र खडका सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा लक्ष्मण यादवलाई ३ मतान्तरले पराजित गर्दै चन्द्र कुमार मगराती निर्वाचित भएका छन् । मगरातीले २४ मत र यादवले २१ मत प्राप्त गरेका छन् ।
सहसचिवमा सन्देश तामाङ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौतमलाई २ मतान्तरले पराजित गरेका हुन । तामाङले २३ र गौतमले २१ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा निर्वाचित भए पछि मनकुमार गुरुङले पहिलो कार्य पार्टी सङ्गठनलाई व्यवस्थित गरेर बलियो बनाउने रहेको बताएका छन् । पार्टी सङ्गठनलाई व्यवस्थित गर्ने कार्यसँग आधारभूत आवश्यकताको अभाव हुन नदिन जनता र कार्यकर्तालाई उत्पादनसँग जोडने काममा प्रेरित गर्ने बताएका छन् । सामूहिक एकताको अभ्यास गर्दै विकास निर्माणमा श्रमसँग जोडने उद्देश्य रहेको नव निर्वाचित अध्यक्ष गुरुङ बताउँछन् ।