धनपालथान गाउँपालिका ७ कदमाहमा आगलागी : एक बालिकाको मृत्यु


मोरङ । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भएको भनिएका बालक सकुशल भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मङ्गलवार दिउँसो भएको आगलागीमा परी एक तीन वर्षीय बालिकाको भने मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी तीन वर्षीय छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । दिउँसो १२ बजेतिर सुरु भएको आगलागीमा परी खातुनको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट १२ घर परिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको डिएसपी जोशीले जानकारी दिए । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । नेपाली सेना, प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी कहाँबाट, के कारणले सुरु भयो र कति क्षति भयो भन्ने खुली नसकेको हुँदा घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्