एक ट्रकमा अमेरिकी डलर ३ लाख २० हजार, युरो १३ लाख ७५ हजार बरामद


काठमाडौं । आज (मङ्गलवार) बिहान चीनको केरुङतर्फ लगिँदै गरेको स्रोत नखुलेको २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।

उनलाई आज बिहान प्रहरीले काठमाडौँको झोर क्षेत्रबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्न खोज्दा एक ट्रकलाई नियन्त्रणमा लिई अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो । नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।

उनी यसअघि सुन तस्करी प्रकरणमा समेत पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ । उनी सात किलो सुनसहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । आज बिहान ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ । ‘कसले पठाएको, कहाँ लगेको र किन लगेको भन्ने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्