बेलबारी । बेलबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन चैत ९ गते हुने भएको छ । चैत ५ गते हुने भनिएको निर्वाचन ४ दिन पछि गर्ने क्याम्पस व्यवस्थापन समितिले निर्णय गरेको हो ।
मनोनयन दर्ता तोकिएको अवधिभित्र नेविसंघको आन्तरिक विवादको कारण दर्ता भएन । सोही कारण सहमतिमा जाने प्रयासमा सर्वदलीय बैठक बस्दा पनि अहिले सम्म कुनै निकास आएको छैन । सहमति नजुट्दा र विवादले गर्दा काम गर्न असहज भएकोले निर्वाचन समितिले पनि राजीनामा दिएको थियो । सो जानकारी निर्वाचन समितिले फागुन २७ गतेको पत्रद्वारा गरेको थियो ।
सोही कारण निर्वाचन हुने नहुने अन्योलमा रहेको थियो । तर मिति सारेर भए पनि क्याम्पस व्यवस्थापन समितिले निर्वाचन गर्ने तयारी गरेको छ । समितिका अध्यक्ष तथा कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले ९ गते निर्वाचन गर्ने गरी, सबै निर्वाचनको तयारी आजैबाट सुरु गर्ने बताएका छन् ।
बेलबारी क्याम्पस स्ववियु निर्वाचन समितिका संयोजक गोपाल सुवेदीसहित ५ जनाले कार्य सम्पादन सञ्चालनमा अवरोध सिर्जना भएकोले राजीनामा दिएको पत्र फिर्ता लिइएको जानकारी क्याम्पसले गरेको छ । निर्वाचन समितिको सदस्यमा खेम बहादुर चम्लागाई, सुदीपकुमार मण्डल, सङ्गीता राई, मंजुकुमारी गौतम रहेका छन् ।
मनोनयन दर्ता भएको सङ्गठनमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियुको रहेको छ ।