पार्लेन्स बोर्डिङले धूमधामसँग मनायो वार्षिकोत्सव


उर्लाबारी । उर्लाबारी ७ भद्रमारीमा अवस्थित पार्लेन्स इन्टरनेशनल एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित यस कार्यक्रममा उर्लाबारी नगरपालिकाका उप सचिव एवं शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रमको प्रारम्भ विद्यालयका छात्रछात्राहरूले स्वागत गीत प्रस्तुत गरेर गरेका थिए । त्यसपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिए, जसमा नेपाली परम्परागत नृत्य, देशभक्ति भावनाले ओतप्रोत नृत्य, गायन समावेश थिए । विद्यार्थीहरूले प्रस्तुत गरेका यी कार्यक्रमहरूले उपस्थित अभिभावक, शिक्षक, र अतिथिहरूलाई मन्त्रमुग्ध पारे । जसले सम्पूर्ण वातावरणलाई देशभक्तिपूर्ण बनायो। विद्यालयका संस्थापक प्रिन्सिपल हेमचन्द्र भट्टराईले विद्यालयको प्रगति, आगामी योजनाहरू, र विद्यार्थीहरूको शैक्षिक उपलब्धिहरूबारे जानकारी गराउँदै भने, ‘हामीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिएका छौँ। यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्न मद्दत पुर्‍याएको छ।’

यस्तै, प्रमुख अतिथि काफ्लेले विद्यालयको प्रयासको प्रशंसा गर्दै भने, ‘पार्लेन्स एकेडेमीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यहाँका विद्यार्थीहरूले विभिन्न सीप र कलामा दक्षता हासिल गरेका छन्, जुन सराहनीय छ।’ स्कुलले विगत १८ वर्षदेखि स्थानीय समुदायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आउँदा खुसी भएको कार्यक्रममा विशिष्ट अतिथि प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष लेखनाथ भट्टराईले बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक स्तरमा गुणस्तर ल्याउन शिक्षकले मात्रै नभएर अभिभावकको भूमिका पनि उल्लेखनीय हुने स्मरण गराउनुभयो ।

कार्यक्रममा अतिथिहरू स्थानीय निजी विद्यालयका सञ्चालक तथा प्याब्सनसम्बद्ध व्यक्तित्वहरू सुरेन्द्र सुवेदी, दिनेश पोख्रेल, आनन्द कार्की, सूर्य पौडेल, भुवन श्रेष्ठ, अमर काफ्ले, प्रिसिमा घिमिरेलगायत सञ्चारकर्मी, विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न अतिथिहरूको बाक्लो सहभागिता रहेको थियो । विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनलाई प्रोत्साहन गर्न विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । यस अवसरमा, विद्यालयले विद्यार्थीहरूको शैक्षिक प्रगति र अतिरिक्त क्रियाकलापहरूमा सहभागितालाई पुरस्कृत गर्‍यो ।

विद्यालयका प्रिन्सिपल हेमचन्द्र भट्टराईले विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको यात्राबारे चर्चा गर्दै भने, १८ वर्षअघि सुरु भएको हाम्रो यो यात्रा आज यहाँसम्म आइपुगेको छ। हामीले सधैँ विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि प्रतिबद्धता व्यक्त गरेका छौँ र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिनेछौँ । विद्यालयले शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै आएको छ, जसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्