बेलबारी । सहकारी कर्मचारी सङ्गठन बेलबारीको अध्यक्षमा तारा राई निर्वाचित भएका छन् । सङ्गठनको प्रथम साधारणसभाद्वारा राई अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
बेलबारीको बेतना सिमसारमा शनिवार सहकारी कर्मचारी सङ्गठन बेलबारी प्रथम साधारणसभा तथा वन भोज कार्यक्रम सम्पन्नसँगै तदर्थ समितिबाट पूर्ण समिति निर्माण भएको हो । उपाध्यक्षमा विनय मिश्र, सचिवमा गोविन्द खडका, कोषाध्यक्षमा मिरा गुरुङ, सदस्यमा रञ्जना चौधरी, भद्र बहादुर घले, सुमन ढकाल, विमला लिम्बु, जगत क्षेत्री, अस्मिता थापा निर्वाचित भएका छन् ।
खुल्ला सत्रको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कसैको प्रभावमा नपरी संस्था संरक्षण गर्ने प्रमुख दायित्व संस्थाका कर्मचारीहरूको रहेको बताए । सबै हिसाब पारदर्शी राख्नु पर्ने राई बताउँछन् । यदि सञ्चालक समितिबाट कुनै अवैधानिक आर्थिक कारोबार हुँदै छ भन्ने थाहा पाए सेयर सदस्यलाई सूचना प्रदान गर्न उनको सुझाव रहेको छ ।
देशमा सहकारीको नकारात्मक छवि बन्दै गएको बेला सुधार गर्ने र सक्षम कार्य सम्पादनबाट सकारात्मक सन्देश प्रवाह गर्न कर्मचारीहरूबाट मात्र सम्भव हुने राई बताउँछन् । सहकारीको जिम्मेवारी सामान्य नभएको उनले बताए । तसर्थ इमानदारिताका साथ कार्य सम्पादन भए कुनै पनि सहकारी नडुब्ने उनले बताए ।
कार्यक्रममा जिल्ला कृषि सहकारी मोरङका अध्यक्ष रवीन्द्र आचार्य, सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गा गौतम, बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराई, सहसचिव राजन प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी कर्मचारी सङ्गठन बेलबारीका सचिव गोबिन्दा खड्काले गरेका थिए ।