बेलबारी । बेलबारी नगरपालिका वडा नं.४ मा रहेको डेल्टा इङ्लिस स्कुलको दोस्रो डेल्टा डान्स आइडल २०८१ सम्पन्न भएको छ । प्रतियोगिताको समापन समारोह बिहीबार सम्पन्न भएको हो ।
सिनियर तर्फ प्रथम कक्षा ९ की शारदा मगर, फस्ट रनरअप कक्षा ६ की दिप्सिका राई र सेकेन्ड रनरअप कक्षा ५ की शीतल राई भएकी छिन । जुनियर तर्फ कक्षा २ की निनाम्मा मगर प्रथम, फस्ट रनरअप र सेकेन्ड रनरअप क्रमशः कक्षा ४ की मोनिका मगर र प्रमिशा चेम्जोङ भएकी छिन ।
प्रथम हुनेले १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् भने फस्ट रनरअपले ५० प्रतिशत र सेकेन्ड रनरअपले २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् । त्यस्तै २०८० को विद्यालय प्रथम कक्षा ७ बाट ८ मा जाने त्रिपोसा राईले १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् ।
कार्यक्रममा शुभकामना प्रदान गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नं.४ का अध्यक्ष चन्द्र बहादुर लिम्बुले डेल्टाले छोटो समयमा धेरै प्रगति गरेको बताए । विद्यालयको प्रगति देखेर उत्साहित भएको लिम्बु बताउँछन् । शिक्षा क्षेत्रको विकासको लागि विद्यालयलाई चाहिने सहयोग वडा कार्यालयको सधैँ रहने लिम्बुले बताए ।
कार्यक्रममा विशिष्ट अतिथिमा नेश्नल प्यावसन केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल, बेलबारी प्यावसनका अध्यक्ष भगवती प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । अतिथिहरूले शुभकामना प्रदान गर्दै किताबी अध्ययन अध्यापनसँगै विद्यार्थीको प्रतिभा पहिचान गर्न साथै निखार्ने कार्य डेल्टा स्कुलले गरिरहेको बताएका छन् । बेलबारीमा डेल्टा विद्यालय छोटो अवधिमा प्रगतिशील मार्ग तर्फ गुणस्तरीय शिक्षा प्रदान गर्दै अग्रसर रहेको उनीहरूले बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्वत खालिङको अध्यक्षतामा सम्पन्न भएको हो । बालबालिकालाई गुणस्तर शिक्षा किताबको अध्ययनसँगै प्रतिभा निखार्ने अतिरिक्त क्रियाकलापको कार्यक्रम गरे मात्र पूर्ण हुने भएकोले बालबालिकाको सर्वाङ्गीण विकासको लागि विद्यालयको गतिविधि सोही अनुसार गरिरहेको र गरिरहने राईले बताए ।