धरान । सडक दुर्घटनामा स्पाइनलकर्ड इन्ज्युरी भई दश वर्षदेखि थलिएका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार सहयोग गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित बिहीबार पुण्य प्याकुरेलको निवासमै पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरिएको हो ।
सङ्गठनका सदस्य समेत रहनु भएका सुशील पोखरेल धरान १५ का स्थायी बासिन्दा हुनुहुन्छ । हाल वहाँ कतारको अवेन्सल लाइटिङ्ग कम्पनीमा लाइटिङ्ग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । घर आएको समय सङ्गठनका अध्यक्ष भीमज्वाला राईको आग्रहमा पीडित मजदुरलाई सहयोग गरिएको पोखरेलले बताउनुभयो । वहाँले भन्नु भयो आफुपनि यातायात मजदुर नै भएकाले पुण्य प्याकुरेलको अवस्था देखेर सहयोग गरेको बताउनुभयो । वहाँले भन्नुभयो पहिले पनि सहयोग गरेको थिएँ फेरी पनि सहयोग गर्छु ।
साथमा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले र प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष विकास चाम्लिङ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरानका अध्यक्ष किरण थापा सहभागी हुनुहुन्थ्यो । २०७२ साल असार १५ गते सडक दुर्घटनामा परेका पुण्य प्याकुरेलको स्पाइनलकर्ड इन्ज्युरी भएपछि सोही समयदेखि हालसम्म ओछ्यान परेका छन् ।
छोरा, छोरी र श्रीमती सहित अरूको घरमा भाडामा बस्दै आएका प्याकुरेल परिवारका लागि सङ्गठनका अध्यक्ष भीमज्वाला राईकै पहल तथा सञ्चारकर्मी लगायत विभिन्न सहयोगदाताहरूको सहयोगमा २०७५ सालमा घर निर्माण गरेर स्थापित गरिएको भए पनि उनको परिवार चलाउन तथा छोराछोरीको शिक्षाका सहयोग जुटाएरै जीवन धान्दै आइरहेको छ ।