मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा नगरपालिका १० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । फागुन २० गते देखि भएको विद्यालयको अभिभावक दिवस चार दिन सम्म सञ्चालन भएको थियो । समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, गायन, नृत्य, चित्रकला, भाषण तथा अभिभावकहरूको म्याराथुन, विज्ञान प्रदर्शनी तथा ज्येष्ठ अभिभावक सम्मान लगायतका विविध गतिविधि प्रस्तुत भएको थियो ।
सिद्धार्थ स्कुलले कार्यक्रमको अन्तिम दिन नगर मै पहिलो पटक नातिनातिनासँग ज्येष्ठ अभिभावक हजुरबुवा हजुरआमालाई वृहत् सम्मान गरेको छ। स्कुलले आफ्नो ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम अन्तर्गत पढाउने प्रविधिलाई विकास गरी संस्कार सहितको शिक्षा दिन विशेष जोड गर्दै नातीनातिनासंगै हजुरबुवा हजुरआमालाई लौरो, छाता र दोसल्ला ओढाएर सम्मान गरेको विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिए ।
सिद्धार्थ सेकेण्डरी स्कुलको अभिभावक दिवसको चौथो दिन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आगमनले अभिभावक, विद्यार्थी र शिक्षकको मन छोएको थियो। आफ्नो अनुभव तथा समाजसेवाको यात्राबारे बताउँदै पुनले विद्यार्थीलाई समाजका लागि उपयोगी नयाँ विचार ल्याउन प्रेरित गरे । विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा ३२ वर्ष बिताएका पुनले आफ्नो कमाइ नभए पनि समाजकै लागि सबै खर्च गरिरहेको बताए ।