कानेपोखरी । कानेपोखरी गाउँपालिकाको कार्यालय स्थानान्तरण भएको छ । सङ्घीय मन्त्री परिषद्ले कानेपोखरी गाउँपालिकाको केन्द्र वडा नं.६ वयरवनलाई परिवर्तन गरी वडा नं.५ भौँसाबारी कायम गरे पछि बुधवार गाउँ कार्यपालिकाको कार्यालय वडा नं.५ को कार्यालय रहेको भवनमा सारिएको हो ।
कार्यालय प्रवेश महाशिवरात्रिको अवसरमा पूजापाठ गरी औपचारिक उद्घाटन गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनाम र उपाध्यक्ष भोलाप्रसाद अधिकारीले गरेका हुन । वडा नं.५ को कार्यालय वडाध्यक्ष चरण गुरुङका अनुसार गाउँपालिकाको कार्यालय छेउछाउकै भवनमा व्यवस्थापन गर्ने तयारी रहेको छ । वडा नं.५ भौँसाबारीमा गाउँपालिकाले २०७७ सालमा नै १ बिघा जग्गा खरिद गरेको छ ।
सोही स्थानमा प्रशासनिक भवन निर्माणको लागि टेन्डर प्रक्रिया पनि चाडै बढ्ने गाउँपालिकाका प्रवक्ता साथै वडा नं.२ का अध्यक्ष सुशील बुढाथोकीले बताएका छन् । हाललाई प्रशासनिक सेवा दिने स्थान वडा नं.५ मा परिवर्तन गर्नको कारण गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन पक्का हुन्छ र ढिलाइ पनि गर्दैन भन्ने सन्देश जनतालाई प्रदान गरेको बुढाथोकी बताउँछन् ।
बिहीबारबाट सेवा सुचारु हुने गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले जनाएकी छिन । प्रशासनिक सेवा दिनलाई केही समयको लागि संरचना साँगुरो भएमा असहज भएमा क्षमा गर्न स्थानीयमा आग्रह गरेका छन् । स्थानीयको माग अनुसार र गाउँपालिकाको निर्णयको कार्यान्वयनमा ढिलाइ हुँदैन भन्ने विश्वास दिलाउन गाउँ कार्यपालिकाको कार्यालय स्थानान्तरण गरेको उनले बताइन । एक वर्ष भित्र प्रशासनिक भवन निर्माण गरेर चाडै गाउँपालिका केन्द्र तोकिएको स्थानमा सर्ने पनि प्रतिबद्धता गरेकी छिन ।
गाउँपालिकाको निर्णयबाट स्थानीय पनि उत्साहित भएका छन् । बाबुराम राय भन्छन्, ‘वर्तमान जनप्रतिनिधिले निर्णयसँगै पूर्ण रूपमा काम गर्न सक्छन् भन्ने उदाहरण भएको छ । भूगोलको हिसाबले प्रशासनिक भवन सार्ने निर्णय ठिक रहेको छ ।’ साथै बाबुराम भट्ट भन्छन्, ‘कार्यालय स्थानान्तरण भएसँगै गाउँवासीलाई सेवा लिन सहज हुने भएको छ ।’