कानेपोखरी । कानेपोखरी २ दलेलीमा रहेको शिक्षा विकास मा.बिको दोस्रो तला निर्माणको लागि शिलान्यास भएको छ । आइतबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्गनामले एक तले भवनको दोस्रो तल्ला निर्माण कार्यको थालनीको शिलान्यास गरेकी छन् ।
अध्यक्ष इङ्गनामका अनुसार दोस्रो तला थपका लागि रु.१ करोड ९९ लाखमा ठेक्का आव्हान भई १ करोड २३ लाख ५१ हजार ५ सय २९ मा ठेक्का सम्झौता भएको हो । वरदान निर्माण एण्ड सप्लायर्स प्रा.लिसँग माघ १८ गते कार्य सुरुवात भई असार मसान्त सम्मको काम सक्ने गरी सम्झौता भएको इङ्गनामले बताएकी छिन । उनका अनुसार ६ वटा कक्षा र १ वटा हल रहने छ ।
कक्षा १२ सम्म अध्ययन अध्यापन भई रहेको सो विद्यालयमा विद्यार्थीको चाप बढ्दो र विद्यालय भवन जीर्ण अवस्था भई अति आवश्यक रहेकाले संरचना थप गर्न लागेको इङ्गनामले बताइन । सो क्षेत्रमा अधिकांश दलित र आदिवासी बालबालिकाहरू विद्यालय आउने हुँदा शैक्षिक गुणस्तरसँगै भौतिक संरचना समेत बलियो बनाउन आवश्यक रहेका उनी बताउँछिन् ।
यस विद्यालयलाई गौरवको आयोजनामा पारि काम गरेको र समग्र पालिकामा नै शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको इङ्गनाम बताउँछिन् । कानेपोखरी गाउँपालिकाको बाल कक्षामा स्वास्थ्य बिमा, ११ र १२ कक्षा निः शुल्क, ब्याचलरमा बुहारीलाई निःशुल्क, सुत्केरी सट्टा शिक्षक लगायत थुप्रै कार्यक्रम शिक्षामा रहेको छ । शिलान्यास कार्यक्रममा वडा नं २ मा वडा अध्यक्ष सुशील बुढाथोकी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास पौडेल, प्रअ रुद्र बहादुर निरौला लगायतको उपस्थिति रहेको थियो ।
यस्तै आ.व २०८०/०८१ मा सोही विद्यालयको १० कोठे एक तले भवन रु.२ करोड ६९ लाखमा सम्पन्न भई सङ्घीय सांसद तथा लेखा सुपरिवेक्षक सभापति माननीय ऋषिकेश पोखरेलले उद्घाटन गरेका थिए ।