मोरङ । बेलबारीका पत्रकार केशु विरहीद्वारा लिखित शोधमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को लोकार्पण भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र बैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरू विनोद भण्डारी र डा. उद्धव पोखरेल, स्रष्टा छवि वैरागी घिमिरे, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारीका अग्रज स्रष्टा ईरान राई, अच्छा राई रसिक प्रतिष्ठानका अध्यक्ष केशव सुनामलगायतका अति विशिष्ट राजनीतिक, साहित्यिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा बेलबारी तथा आसपासका पालिकाका राजनीतिक, साहित्यिक व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कला साहित्यको विकासमा यो क्षेत्र निकै अघि रहेको बताउँदै यसको विकासमा समै लाग्नुपर्ने बताए । बेलबारी नगरपालिकाका पूर्व प्रमुखसमेत रहेका सुवेदीले राम्रो उद्देश्य राखेर कृति प्रकाशन गरेकामा लेखकलाई बधाईसमेत दिए । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले अनुसन्धानको महŒवको बारेमा बताउँदै लेखकले बेलबारीका विषयमा गरेको खोजी र त्यसाको विकासमा पुराएको योगदानको मूल्याङ्कन हुने बताए ।
लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेको समीक्षा रहेको थियो । समीक्षक न्यौपानेले यस कृतिमा विरहीको कडा मेहनत मिसिएको बताए । अनुसन्धानका काम निकै कठिन हुने भए पनि विरहीले निकै आँट गरेर यस्ता काम गरिरहेकामा खुलेर प्रशंसा पनि गरेका थिए । भाषाविद् आचार्य अ.ले यसरी अनुसन्धान गर्ने व्यक्ति समाजमा निकै कम हुने गरेको बताउँदै विरहीको कार्य प्रशंसा तथा सम्मान गर्न लायक भएको बताए । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, कवि तथा अन्वेषक अनिल पौडेल, कवि तथा समीक्षक मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, बेलबारीका अग्रज स्रष्टा ईरान राई, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइरालालगायतका व्यक्तिहरूले कृतिकार विरही तथा उनले सुरु गरेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका थिए । बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने स्रष्टा नवराज पोखरेल नवशिलाको रहेको थियो ।
प्रमुख अतिथिले समेत आफैँ खरिद गरेर गरे पुस्तकको लोकार्पण पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले कार्यक्रमका प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने कामको सुरुआत भएको छ । कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरेका हुन् । अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीद्वारा प्रकाशित शोधमूलक कृतिको आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति रमेश निरौला, विशिष्ट अतिथिहरू बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरू विनोद भण्डारी र डा. उद्धव पोखरेल, बेलबारीका अग्रज स्रष्टा ईरान राई, साहित्यका छवि वैरागी घिमिरे लगायतका विशिष्ट व्यक्तित्वहरूले कृति खरिद गरेर लोकार्पणमा कार्यक्रममा भाग लिएका थिए ।
पठन संस्कृति हराउँदै गइरहेको त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको छ । नौलो भए पनि धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् ।