कानेपोखरी । कानेपोखरी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि पुनः एकीकरण परियोजना सम्बन्धी सामाजिक अभिमुखीकरण कार्यक्रम पुनः एकीकरण धमाधम सञ्चालन भइरहेको छ । अहिलेसम्म उक्त कार्यक्रम कानेपोखरी गाउँपालिका रोजगार सेवा केन्द्रले वडा नं.१, २, ४ र ७ मा सम्पन्न गरिसकेको छ ।
वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई ज्ञान, सीप, पुँजी, प्रविधि एवम् अनुभवको आधारमा स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यसहित पारिवारिक एवम् सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श र नेतृत्व विकास जस्ता कार्यक्रमहरू मार्फत सहायता गर्न वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूका लागि पुनः एकीकरण परियोजना कार्यक्रम गाउँपालिकाले सञ्चालन गरिरहेको कानेपोखरी गाउँपालिका रोजगार सेवा केन्द्रका रोजगार परामर्शकर्ता रमेश अधिकारी बताउँछन् ।
परिवार परामर्शकर्ता अनिशा आचार्यका अनुसार परिवार सदस्य बिच सम्बन्ध सुदृढीकरण, मनोसामाजिक परामर्श तथा विमर्श गर्ने, लाञ्छना तथा सामाजिक रूपमा विभेद तथा बहिष्करण, हिंसा हटाउन बृहत् जनचेतना प्रदान गर्ने, सामाजिक सुरक्षामा पहुँच बढाउने, आप्रवासी सञ्जाल मार्फत सशक्तीकरण गर्ने सामाजिक पुनः एकीकरण रेमी परियोजनाको रहेको छ ।
वैदेशिक रोजगारीबाट फर्केकाहरूको लागि कहिले पनि यस प्रकारको कार्यक्रम नभएकोले, भावी दिनमा पनि निरन्तर दिँदै जानुपर्ने आग्रहको साथ गाउँपालिकालाई स्थानीयले धन्यवाद प्रदान गरिरहेको सामाजिक परिचालक रविन अधिकारी बताउँछन् । स्थानीय सरकार भएको अनुभूति भएको स्थानीयको प्रतिक्रिया रहेको अधिकारीले बताए ।