प्रादेशिक आम सञ्चार विधेयकमाथि पर्याप्त छलफल गरी सहमतिमै पारित हुने छ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुने बताएका छन् । विधेयकमाथि पर्याप्त छलफल गर्ने उनले बताए ।

विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश भएको प्रादेशिक सञ्चार विधेयकमा कमी कमजोरी भए सच्याएर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रूपमा बखेडा झिक्न खोजेको बताएका छन् ।

उनले भने,’ सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरूले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न ।’ यस अघिका सरकारहरू र प्रदेश सरकारहरूले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरूले अनावश्यक रूपमा विधेयकहरूको विरोध गर्न नहुने बताए ।

यसै गरी कोशी प्रदेशको विकासका प्रदेश सरकारले विभिन्न योजनाहरू सुरु गरिएको कार्कीले बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरू निर्माणको काम सुरु गरिएको जानकारी गराएका छन् ।

प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरीको ४ वटा पदमार्ग निर्माणको काम सुरु दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिएका छन् । पछिल्लो समयमा विकास निर्माणको क्रम बढेको बताए । नयाँ सत्ता समीकरण बनेपछि सकारात्मक परिवर्तनहरू देखिन थालेको कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्