“स्पोर्ट्स मिट” को उद्घाटन समारोह सम्पन्न : इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका वडा नं.१२ मा रहेको श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलको स्पोर्ट्स मिट २०८१ सुरु भएको छ । सोमबार स्पोर्ट्स मिटको उद्घाटन समारोह सम्पन्न गरेको छ ।


विद्यालयका प्रधानाध्यापक खम्बासिंह बस्नेत, शिक्षक तथा अग्रज अभिभावक देवेन्द्र काफ्लेद्वारा स्पोर्ट्स फेल्म प्रज्वलन गरी स्पोर्ट्स मिटको औपचारिक उद्घाटन गरियो । उक्त मसाल बोकेर छात्राहरूले खेलमैदानको परिक्रमा गरेका थिइन । विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्ने विषयमा कुनै कन्जुसाई नहुने प्रधानाध्यापक बस्नेत बताउँछन् । उनले अभिभावकहरूलाई पनि विद्यालयको कार्य सम्पादनलाई निरन्तर अवलोकन गरेर समीक्षा गर्न आग्रह गरेका छन् ।


विद्यार्थीहरूलाई अध्ययन गराउने विषयमा कुनै समस्या भए अभिभावकहरूले प्रस्ट विचार विद्यालयमा राख्न आग्रह गर्दै इन्द्रपुर मा.विमा अध्ययनरत विद्यार्थीको भविष्य निर्माण कुनै सम्झौता शिक्षकहरूबाट नहुने बस्नेतले बताए । उज्ज्वल भविष्यको लागि ४ दशक भन्दा लामो शिक्षण पेसामा अबद्ध भएको अनुभवबाट विद्यार्थीहरूले चाहे दिन र रात कुनै समय पनि अध्यापन गराउन तयार रहेको बस्नेत बताउँछन् ।

शिक्षक तथा अग्रज अभिभावक देवेन्द्र काफ्ले “स्पोर्ट्स मिट” को सफलताको शुभकामना व्यक्त गर्दै इन्द्रपुर मा.विलाई सुन्दरहरैँचा नगरपालिकामा सुविधासम्पन्न संरचना तथा आवश्यक शैक्षिक सुविधासहितको एक विद्यालय भएको बताए । विद्यालयको विकासमा व्यवस्थापन समिति, शिक्षकहरू, विद्यार्थी, अभिभावक लगायत सबैको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । “स्पोर्ट्स मिट” ले विद्यार्थीहरूलाई प्रतिभा निखार्ने, अनुशासित साथै साहसी बनाउन सहयोग पुराउने आशा व्यक्त गरेका छन् । किताबी पढाइसँगै खेलकुद साथै अन्य गतिविधि अनिवार्य गर्न आवश्यक रहेको काफ्लेले बताए ।

“स्पोर्ट्स मिट” फागुन २ गतेसम्म हुने सहप्राध्यापक निश्चल बस्नेतले जनाएका छन् । उक्त “स्पोर्ट्स मिट” मा कक्षा शिशु देखी १० सम्मका विद्यार्थीहरूलाई विभिन्न प्रकारका खेलकुद खेलाइने उनले बताए । “स्पोट्र्स मिट” विद्यालयको आफ्नै खेलमैदानमा हुँदै छ । कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य पनि विद्यार्थीद्वारा नै भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्