मोरङ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, काठमाडौँको आयोजनामा बेलबारीमा प्रादेशिक ललितकला प्रदर्शनी सञ्चालन हुने भएको छ । आयोजकले सोमवार बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर सोको जानकारी गराएका हुन् ।
बेलबारी नगरपालिका १ स्थित तमु बुद्धिष्ट गुम्बामा सञ्चालन हुने प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, कोसी प्रदेश सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोग र स्थानीय विभिन्न साहित्यिक सङ्घसंस्थाको सहकार्य रहने बताइएको छ । फागुन १६ देखि २० सम्म चल्ने प्रदर्शनीमा १५ हजार व्यक्तिहरूले अवलोकन गर्ने आयोजकले बताएको छ ।
प्रादेशिक ललितकला प्रदर्शनी मूल आयोजक समितिका संयोजक सञ्जय बान्तवा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, अग्रज कलाकार सम्मान उपसमितिका संयोजक गणेश लामा, डिस्प्ले, सजावट उपसमितिका संयोजक महेन्द्र राई, प्रचार प्रसार उपसमितिका संयोजक विकास बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । मूल आयोजक समितिका संयोजक प्राज्ञ सञ्जय बान्तवाले प्रदर्शनीमा सृजनशील ललितकलालाई प्राथमिकतामा राखिने बताए ।
साथै उनले प्रादेशिक प्रदर्शनीबाट पुरस्कृत भएका कलाकृतिलाई केन्द्रीय प्रदर्शनीमा समेत राखिने बताए । विज्ञ टोलीको सिफारिसमा विभिन्न ७ विधाका कलाकृतिलाई पुरस्कृत गरिनेछ भने हरेक विधाका उत्कृष्ट कलाकारले जनही रु २५ हजार नगद तथा प्रमाण पत्र पाउने छन् । त्यस्तै प्रदेशभरिबाट एक जना अग्रज कलाकारलाई रु ३० हजार नगदसहित प्रमाण पत्रले पुरस्कृत गरिने आयोजकले बताएको छ ।
कार्यक्रमलाई सफल पार्न ६१ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ ओटा उपसमितिको गठन भएको छ ।