धरान । सडक दुर्घटना न्यूनीकरण गर्न एक महिना दुई प्रशिक्षण अभियान सञ्चालन हुने भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेतना जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशभरी रहेका संघ संगठनका कमिटीहरूले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अभियानमा सङ्गठनहरू र सबै व्यवसायी महासङ्घको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरूले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने योजना प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्ययोजना अनुसार एक महिनामा दुई प्रशिक्षण गरिने प्रस्ताव छ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरू र महासंघ आबद्ध व्यवसायी प्रालिहरुले प्रत्येक १५ दिनमा यातायात मजदुर सहभागी गराएर प्रशिक्षण गर्ने उल्लेख छ ।
प्रशिक्षकका रूपमा ट्राफिक प्रहरीले विज्ञ परिचालन गर्ने र प्रत्येक कक्षामा २५ जनाको संख्यामा चालक, सहचालक, परिचालक र व्यवसायीलाई सहभागी गराइले राईले प्रस्ताव गर्नु भएको छ । त्यसरी सञ्चालन हुने प्रशिक्षण बढीमा एक घण्टाको हुने समयलाई सिकाइमा केन्द्रित गर्ने उल्लेख छ । प्रशिक्षण श्रव्य दृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरू मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ ।
यो अभियान चैत्रसम्म सञ्चालन गर्दा न्यूनतम न्यूनतम ७ हजार २ सय मजदुरहरूलाई सडक सुरक्षा सचेतना गराउन सकिने भीमज्वाला राईले बताउनुभयो । यस अभियानमा दुई वटै सङ्गठनसँगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी समेत सँगसँगै रहने राईले बताउनु भयो ।
कार्यक्रम कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी कोशी प्रदेश प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । गौरीलाको अध्यक्षमा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गर्नुभएको छ ।