फाइनलमा आयोजक टिम ए र बि नै भिड्दै : ४औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप


शिशिर राई – सुन्दरहरैँचा । सुन्दरहरैँचामा जारी ४औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८१ को फाइनलमा आयोजक टिम विराट भेट्रान ए. र बि. बिच भिडन्त हुने भएको छ । शुक्रवार भएको दुई वटा सेमिफाइनलबाट आयोजक ए. र बि फाइनलमा प्रवेश गर्दै दुईबिच प्रतिस्पर्धा हुने निश्चित भएको हो ।

पहिलो सेमिफाइनलमा आयोजक टिम विराट भेट्रान एले दुधे भेट्रान झापालाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । आजै भएको अन्तिम सेमिफाइनलमा आयोजक बि र पूर्वेली भेट्रान बिर्तामोडलाई २–१ गोलको अन्तरले हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

पहिलो सेमिफाइनलमा आयोजक टिम एका जर्सी नं.५ का खेलाडी भुपिन लिम्बुले गोल गरे । दोस्रो सेमिफाइनलमा आयोजक टिम बिका जर्सी नं.१३ का खेलाडी चरण गुरुङले ४४ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पूर्वेली भेट्रान बिर्तामोडले गुरुङले गरेको ७ मिनेटको अन्तरमा गोल फर्काएर खेल बराबरीमा पुगेको थियो । बिर्तामोडको तर्फबाट जर्सी नं.७ का सन्तोष राईले गोल गरेका हुन । तर गुरुङले नै थप दोस्रो गोल ५५ मिनेटमा गरे पछि आयोजक टिम बिको पनि फाइनलको यात्रा सुनिश्चित भएको छ ।

पहिलो खेलको मेन अफ द म्याच आयोजक टिम एका खेलाडी डेनी राई घोषित भएका छन् भने दोस्रो सेमिफाइनल खेलको मेन अफ द म्याच आयोजक टिम बिका दुई गोल गर्ने गुरुङ नै घोषित भएका छन् । सुन्दरहरैँचा वडा नं.१० स्थित सुकुना खेल मैदानमा जारी ४औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८१ को उपाधि आयोजक टिमले नै चुम्ने निश्चित छ तर टिम एले उपाधि हात पर्ने छ की बिले त्यो भने भोली शनिवार हुने फाइनल खेलले निर्णय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्