धरान । धरानका यातायात मजदुरहरूलाई आइतबार सडक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । सडक दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकहरूको संख्या बढिरहेकोले बन्दकाबीच सवारीका चालकहरूलाई सडक सुरक्षा सचेतना गराइएको हो ।
विषय प्रस्तुत गर्नुहुँदै मजदुर नेता भीमज्वाला राईले नेपालको सार्वजनिक यातायात विकल्पहीन साधन भए पनि असुरक्षित रहेको तथ्य प्रस्तुत गर्नुभयो । प्रत्येक दिन न्यूनतम सातजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र न्यूनतम ४० जना नागरिक घाइते भइरहेको बताउनु भयो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष रहनुभएका राईले सडक दुर्घटना हुनुमा भौतिक कारण, मानवीय कारण, यान्त्रिक कारण र पर्यावरणीय कारण रहेको उल्लेख गर्नुहुँदै चालकहरू धैर्य र संयमित बन्नसके मानवीय त्रुटिले हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
वहाँले तथ्य प्रस्तुत गर्दै भन्नुभयो भौतिक रूपमा सवारीसाधनको आवश्यकता, यात्रुको चाप, प्रकृतिका आधारमा आयात, ट्राफिक व्यवस्थापनलाई आधुनिकीकरण र सडक निर्माणको सन्तुलनलाई सन्तुलित बनाउनुपर्ने, मानवीय कारणहरूमा चालकहरूले मादक पदार्थ र लागु पदार्थ सेवनलाई पूर्ण अन्त्य, चालकहरूको उमेर, अस्वस्थ प्रतिस्पर्धा तीव्र गतिलाई नियन्त्रण गर्नु पर्ने बताउनु भयो । विषय प्रस्तुत गर्नुहुँदै यान्त्रिक कारण अन्तर्गत नेपाली बजारमा बिक्री-वितरण हुने नक्कली पार्टपुर्जाहरू र कमसल इन्धन बिक्री-वितरणमा रोक लगाउँदै नियमन र मापदण्ड निर्माण गर्नु पर्ने र पर्यावरणीय कारण अन्तर्गत सितलहर, हुस्से, अति वर्षा, बाढी, पहिरोको अवस्थामा पूर्व सूचना दिने प्रविधि र अनुशिक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा त्यस्ता सवारीसाधनलाई छुटपुर्जी रोक्का गरिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले सडक दुर्घटना हुँदा राज्यले अनुसन्धान गरेर गल्ती गर्ने सवारीसाधनलाई क्षतिपूर्ति भराइने कोशी प्रदेश यातायात व्यवस्था ऐनमा उल्लेख भएको भएता पनि गल्ती नहुँदा पनि ठुलो सवारीसाधनले तिर्नु परेको बताउनु भयो । इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी प्रकाश जबेगुले सडक दुर्घटना हुँदा चालकहरू र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरू बारे प्रशिक्षित गर्नुभयो ।
वहाँले सवारी ऐनको दफा १६१ र १६२ का चालकहरूलाई हुने कानुनी सजायबारे प्रस्तुत गर्नुभयो । त्यस्तै सडकमा हिँड्दा चालकहरूले अपनाउनुपर्ने ट्राफिक नियमहरूका बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र थापाले अनुशिक्षण गर्नुभयो । वहाँले सडकमा निस्कनुअघि चालकहरूले सवारीसाधनको अवस्था र जाँच गर्नुपर्ने विषयहरू बारे अवगत गराउनुहुँदै चालकहरूले साथमा राख्नु पर्ने कागजात बारे प्रशिक्षण प्रदान गर्नुभयो । पूर्वाञ्चल यातायात व्यवसायी सङ्घको सभाहलमा सम्पन्न कार्यक्रम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले संयुक्त रूपमा आयोजना गरेको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका १ सय ५ जना यातायात मजदुरहरुको उपस्थिति रहेको थियो । यातायात बन्द रहेको अवस्थालाई उपयोग गर्दै यातायात मजदुर तथा व्यवसायीहरूलाई ज्ञानवर्धक कार्यक्रमको आयोजना गरिएको नेता लक्ष्मी बानियाँले बताउनुभयो ।