विराट भेट्रान अन्तर्राष्ट्रिय गाेल्डकप : आयोजक बि. ले उर्लाबारीलाई हरायो


मणिराम दाहाल – सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको आइतबारको खेलमा उर्लाबारी भेट्रानलाई शून्यका विरुद्ध २ गोलको अन्तरले पछि पार्दै विराट भेट्रान बि. क्वाटर फाइनलमा प्रवेश गरेको छ । नगरको सुकुना खेल मैदानमा विराट भेट्रानद्वारा आयोजित प्रतियोगितामा उर्लाबारी मोरङलाई पछि पार्दै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

कडा प्रतिस्पर्धा पूर्ण खेलको पहिलो हाफमा दुवै टिमको कुनै पनि गोल हुन सकेन । दोस्रो हाफको १२ मिनेटमा जर्सी न. १५ आयोजक बि. तर्फका खेलाडी नगेन्द्र लिम्बूले पहिलो गोल गरेर आफ्नो टिमलाई अगाडि बढाएका थिए । साथै आयोजक बि. को तर्फबाट दोस्रो हाफको १६ मिनेटमा जर्सी न. २ का खेलाडी महेन्द्र खवासले सानदार गोल गरेर जाली चुमाउँदै आफ्नो टिमलाई जितको यात्रा तय गराएका थिए ।

उपयुक्त खेल सिपबाट जवाफी गोल फर्काउन नसक्दा उर्लाबारीको टोली छिमेकी खेल मैदानमा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । उसले बिदाइको हात हल्लाउँदै घर तर्फ फर्कियो । मध्यान्तरपछि सुधारिएको प्रदर्शनमा विराट भेट्रान बि. ले आफ्नो पक्षमा नजिता निकाल्न सफल भएको थियो ।

भेट्रान खेलाडीले भरिपूर्ण दुवै टिमको रोचक प्रतिस्पर्धामा आयोजकले उर्लाबारीलाई खेल अवधि भरि कडा दबाबमा राखेको थियो । माघ महिनाको चिसो मौसमको प्रवाह नगरी खेलाडीले देखाएको खेलको कौशलले सुन्दरहरैँचाकाे माहाेल फुटबलमय बनेर तातेकाे थियो । उर्लाबारी मोरङले धेरै पटक गोल लगाउने सुनौलो अवसर पाए पनि खेलाडी बिचको उपयुक्त तालमेल र पास नमिल्दा क्वाटर फाइनलको अवसरबाट पछि परेको हो ।

खेलको म्यान अफ दी म्याच जर्सी न. २३ का आयोजक तर्फबाट खेलाडी गोलकिपर सतिस बस्नेत घोषित भए। उनले नगद पुरस्कार पाए। आगामी माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश वटा टिमको सहभागिता रहेको छ । अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको दोस्रो दिनको खेलको उद्घाटन वडा अध्यक्ष राजकुमार राईले गर्नु भएको थियो ।

प्रतियोगिताको उपाधि गत वर्षमा सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेको थियो । राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो। प्रतियोगिता सञ्चालनका लागि सुन्दरहरैँचा नगरपालिका मुख्य सहयोगी तथा जिल्ला फुटबल सङ्घ मोरङ सहयोगकर्ता रहेको छ । प्रतियोगिताको विजेता टिमले रु १ लाख तथा उपविजेताले रु ५० हजार नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउने आयोजक क्लबका सचिव समीर बस्नेतले जानकारी दिए ।

आयोजक गाेल्डकपका आर्थिक संयोजक दुर्गाकुमार श्रेष्ठले स्वास्थ्य तथा राष्ट्रका लागि खेलकुद आवश्यक हुने हुँदा प्रतियोगिता सञ्चालनका लागि रु १० लाख ७० हजार अनुमानित खर्च लाग्ने जानकारी दिए । उनले सोमबारको खेल मिल्स भेट्रान विराटनगर तथा हाम्रो धरान भेट्रान सुनसरी बिच हुने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्