बेलबारी उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न


बेलबारी । बेलबारी उद्योग संघको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साभारणसभामा बेलबारीका व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

साभारणसभामा बोल्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले ‘स्थानीय व्यवसायीको पक्षमा जागरूक देखिएको उद्योग वाणिज्य संघको प्रशंसा गर्दै, संघ सँगै नगरपालिकाको सदैव साथ र सहयोग रहने’ बताउनुभयो । प्रमुख अतिथिका रूपमा रहेका मेयर राईले खस्किँदो बेलबारीको बजारलाई उठाउन व्यवसायीक वातावरण बनाउन नगर तत्पर रहेको बताउनुभयो ।

मोफसलमा रहेर पनि व्यवसायीहरूको आवाज उठाउन सफल बेलबारी उद्योग वाणिज्य संघको प्रशंसा गर्दै बेलबारीलाई महासङ्घको सदैव साथ र सहयोग रहने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । विभिन्न स्थानमा भइरहेका व्यवसायीक मेला, महोत्सवलाई कतै नजुध्ने गरी वार्षिक क्यारेण्डर बनाएर गर्न सके अझ व्यवस्थित हुने अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

कार्यक्रममा विभिन्न शीर्षकमा ६ जना व्यवसायीहरूलाई सम्मान समेत गरिएको थियो । नियमित सदस्यता नवीकरण तर्फ अनिल कुमार चौधरी र चन्द्रहाङ लिम्बू, उद्योग तर्फबाट गणेश चौधरी, वाणिज्य तर्फ राधाकृष्ण श्रेष्ठ, कृषि उद्यमी तर्फ सुवास राई र महिला उद्यमी तर्फ मिरा खड्कालाई सम्मान गरिएको थियो । साथै सङ्घले दीपक बुढाथोकीलाई कदरपत्रद्वारा सम्मान गरेको थियो ।

कार्यक्रम सङ्घका अध्यक्ष भेषकुमार श्रेष्ठ (अशोक)को अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बेलबारीका उद्योगी व्यवसायीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्