एनप्याब्सन मोरङद्वारा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने


मणिराम दाहाल – सुन्दरहरैँचा सुन्दरहरैँचास्थित राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) जिल्ला कार्यसमिति मोरङको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । माघ १६ गते सहिद दिवसको अवसरमा नगरको सलकपुरस्थित दुर्गादेवी दुलाल स्पाेटग्राममा कार्यक्रम हुने भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

विद्यार्थी पहिचान तर्फ आधारभूत तथा माध्यमिक तह स्तरीय चित्र लेखन, हस्तलेखन, विज्ञान प्रदर्शनी साथै लोक नृत्य प्रतियोगिता समावेश हुने आयोजक एनप्याब्सन मोरङ जिल्ला कार्य समिति अध्यक्ष नारायण ढकालले जानकारी दिए । प्रतियोगिताका विजयी टिमलाई ट्रफी, मेडल प्रमाणपत्रका साथै नगद पुरस्कारको समेत व्यवस्था गरिएको एनप्याब्सन कोशी प्रदेश सहसचिव कमल खनालले बताए ।

उनले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा ५० भन्दा बढी नेशनल प्याब्सनमा आबद्ध विद्यालयको सहभागिता रहने उल्लेख गरे । फागुनको अन्तिममा नेशनल प्याब्सन जिल्ला स्तरीय फुटबल तथा भलिबल प्रतियोगिता सञ्चालन हुने बताइएको छ । निकट भविष्यमा बालबालिका अन्तरनिहित क्षमतालाई विकास गर्न अन्य थप रचनात्मक कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।

एनप्याब्सन सुन्दरहरैँचा नगरमा करिब २० तथा मोरङ जिल्ला भरिमा १ सय ५० विद्यालय आबद्ध रहेको तथा प्रतिभा पहिचानमा ५ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहने एनप्याब्सन कोशी प्रदेश सहसचिव खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्