माघ १९ देखी ४औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता


सुन्दरहरैँचा । सुन्दरहरैँचामा ४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता २०८१ हुँदै छ । विराट भेट्रान क्लब, सुन्दरहरैँचाको आयोजनामा माघ १९ गते देखी वडा नं.१० स्थित सुकुना खेलमैदानमा प्रतियोगिता हुन लागेको हो ।

आयोजक क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगितामा भारतको दुई टिमसहित नेपालको ८ फुटबल टिम सहभागी रहने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल संयोजक युवेन गुरुङका अनुसार एन.आर.सी भेट्रान सिक्किम भारत, दुधे भेट्रान झापा, मिल्सस भेट्रान विराटनगर मोरङ, हाम्रो धरान भेट्रान सुनसरी, उर्लाबारी भेट्रान, धूम दार्जिलिङ भारत, राजा रानी भेट्रान धनकुटा, पूर्वेली भेट्रान बिर्तामोड, झापा, विराट भेट्रान आयोजक टिम ए र बि रहेको छ ।

सहभागी खेलाडीको उमेर कम्तीमा ४० वर्ष हुनुपर्ने गुरुङ बताउँछन् । प्रथम नगद पुरस्कार रु.१ लाख १ हजार १ सय ११ र दोस्रो रु.५० हजार ५ सय ५५ रहेको छ । कार्यक्रमको मुख्य प्रायोजक पूर्वाञ्चल ल्युब्रिकेन्ट्स आयल, सहयोगकर्ता जिल्ला फुटबल संघ मोरङ र प्रवर्द्धक सुन्दरहरैँचा नगरपालिका रहेको क्लबका अध्यक्ष दीपक भण्डारीले जनाएका छन् ।

आयोजकका अनुसार उद्घाटन खेल एन.आर.सी र दुधे भेट्रान बिच हुने छ । प्रतियोगिताको फाइनल खेल २६ गते हुने छ । पत्रकार सम्मेलनमा सुन्दरहरैँचा नगरपालिका प्रवक्ता तथा वडा नं.१२ का अध्यक्ष रोशन ढकाल साथै खेलकुद समितिका सदस्य सचिव खड्का श्रेष्ठले शुभकामना प्रदान गरे । शुभकामना प्रदान गर्दै दुवैले सुन्दरहरैँचाको तर्फबाट सक्ने सहयोग हुने बताउँदै प्रतियोगितामा निमन्त्रणा पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्