बेलबारी । बेलबारीमा जारी शैक्षिक प्रदर्शनीमा विज्ञान तथा प्रतिविधितर्फ बालबालिकाको बढी आकर्षण देखिएको छ । बेलबारी ११, लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेलमैदानमा चलिरहेको प्रदर्शनीमा विज्ञान तथा प्रतिविधितर्फ बालबालिकाको बढी आकर्षण देखिएको हो ।
बेलबारी नगरपालिकाको आयोजनामा चार दिनसम्म चल्ने प्रदर्शनीमा विज्ञान प्रविधि, गणित, खाद्यान्न, भाषा साहित्य, सामाजिक, भूगोल तथा इतिहास, चित्रकला र नृत्य गरी विभिन्न सात विधा रहेका छन् ।
गणित तथा विज्ञान प्रविधिका स्टलमा निकै भिडभाड हुँदा भाषा, साहित्य, कला संस्कृति झल्काउने खालका अन्य स्टलमा भने बालबालिकाको उपस्थिति पातलो देखिन्थ्यो ।
गुरुकुल पाठशालाका प्रिन्सिपल कुमार खुलाल बालबालिकाको विज्ञान तथा प्रविधितर्फको आकर्षणलाई सकारात्मक रूपमा लिने गर्छन् । विज्ञान प्रविधिको महत्त्वलाई बुझेर अबको लगानी प्राविधिकतर्फ हुनुपर्ने उनको विचार रहेको छ । बेलबारी नगर प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका खुलालले सामुदायिक र संस्थागत विद्यालय मिलेर कार्यक्रम गर्दा छुट्टै अनुभव भएको प्रतिक्रिया दिए ।
कक्षा कोठाभित्र दिएको किताबी ज्ञानभन्दा यसरी दिएको ज्ञान धेरै प्रभावकारी हुने काली मावि, बेलबारी –९, मोरङका प्रधानाध्यापक नारायणप्रसाद कोइरालाको धारणा रहेको छ । यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा पनि उनको जोड रहेको छ ।
तुलनात्मक रूपमा कम भए पनि साहित्यतर्फ पनि बालबालिकाको आकर्षण हुने गरेको, कुनै कुनै बेलामा त भाषा साहित्यका स्टलमा निकै भिड लाग्ने गरेको साहित्यकारसमेत रहेकी सगरमाथा इङ्ग्लिस स्कुल बेलबारी १, मोरङकी शिक्षक बादलदेवी चाम्लिङको प्रतिक्रिया रहेको छ ।
बेलबारी –४ मा रहेको डेल्टा इङ्ग्लिस स्कुलकी कक्षा ९ की छात्रा सिर्जना राई स्टलमा आउने विद्यार्थीहरूको रुचि फरक फरक खालको रहेको बताउँछिन् । उनी कला साहित्य विधाको स्टलमा आउने बालबालिकालाई स्टलमा राखिएका चित्रहरूका बारेमा जानकारी दिइरहेकी थिइन् ।
नृत्य उपसमितिका संयोजकसमेत रहेका प्याब्सन बेलबारीका अध्यक्ष भगवतीप्रसाद घिमिरे यस्ता कार्यक्रमले विद्यार्थीको ज्ञानको क्षितिज फराकिलो पार्ने प्रतिक्रिया दिन्छन् । उनी बेलबारी नगरपालिकाले उपयुक्त समयमा राम्रो कार्यक्रमको आयोजना गरेको बताउँछन् ।
जनता नमुना मावि, बेलबारी –९, बाहुनीका प्राविधिक धारतर्फ कक्षा ११ कक्षा १२ मा अध्ययनरत छात्र विप्लव कार्की निकै उत्साहका साथ आफूहरूले तयार पारेको स्टलका बारेमा जानकारी गराइरहेका थिए । हाइड्रो पावरका बारेको जानकारी उपलब्ध गराउने स्टल भएका कारणले धेरैको आकर्षण भएको उनको अनुभव रहेको छ ।
यता स्टलको अपर्याप्तताका कारण केही अव्यवस्थित देखिएकाले स्टल व्यवस्थापनमा ध्यान दिनुपर्ने जनता मावि, बेलबारी –८, बाहुनीका प्रधानाध्यापक जनक घिमिरेको सुझाव रहेको थियो ।
प्रदर्शनीको दोस्रो दिन शुक्रवार जुनियर तर्फको नृत्य प्रतियोगिता सञ्चलन भएको थियो । उक्त प्रतियोगितामा बेलबारी नगरपालिकाभित्रका विभिन्न ३० ओटा विद्यालयले भाग लिएका छन् । त्यस्तै विभिन्न २४ ओटा टिमको सहभागिता रहने सिनियरतर्फको नृत्य प्रतियोगिता भने ५ गते सञ्चालन हुनेछ । नृत्य प्रतियोगिताको परिणाम भने माघ ६ गते समापनका दिन मात्र सार्वजनिक हुने आयोजक संस्था बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख एलिना बस्नेतले जानकारी दिइन् ।
दोस्रो दिनको प्रदर्शनीको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापा, बेलबारी नगर कमिटी अध्यक्ष शङ्कर गुरुङलगायतका विशिष्ट व्यक्तिहरूले अवलोकन गरेका थिए । टाढाबाट पाहुनाहरूलाई बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले आफैँ उपस्थित भएर स्टलहरूको भ्रमण गराएका थिए ।
बेलबारी नगरपालिकाको आयोजनामा बिहीबारदेखि प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनी सुरु भएको हो । कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गरेको उक्त प्रदर्शनी ६ गतेसम्म चल्ने छ ।