सरकारमा रहेर संविधान संशोधनको पहल गर्ने


काठमाडौँ, ९ मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सत्ता साझेदारी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री केपी ओलीले सरकार हेरफेर गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीबाट कानुन मन्त्रीको जिम्मा दिएपछि सोमवार मन्त्री यादव मन्त्रालय गएर कार्यभार लिएका छन् ।

सत्तारुद्ध पार्टी नेकपाले सल्लाह विना मन्त्री हेरफेर गरेको र स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई हटाएको भन्दै सरकार छोड्नु पर्ने दबाब अध्यक्ष यादवलाई आएको छ ।

अध्यक्ष यादव भने एक पटक प्रधानमन्त्री केपी ओलीसँग संविधान संशोधनको विषयमा छलफल गर्ने पक्षमा छन् । कानुन मन्त्रालय पाएका बेला संविधान संशोधनको पहल गर्ने चाहना यादवको रहेको उनी निकट एक नेताले बताए ।

प्रधानमन्त्री ओलीमाथि पनि उपेन्द्रलाई सरकारबाट हटाउन दबाब परेको छ । सत्तामा रहेर पनि सत्तापक्षको भूमिका नदेखाएको र समाजवादी पार्टीका परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निरन्तर सरकारको विरोध गरेकोमा ओली असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्