बेलबारीमा प्रथम विद्यालय शैक्षिक प्रदर्शनी सुरु : मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन


बेलबारी । बेलबारी नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन भएको छ । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले चार दिनसम्म चल्ने उक्त प्रदर्शनीको एक विशेष कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि कार्कीले विद्यार्थीहरूद्वारा निर्मित रोबोट सञ्चालन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा प्रमुख अतिथिलाई पञ्चकन्याले स्वागत गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूलाई स्काउटको टिमले सलामी अर्पण गरिनुका साथै खेलाडीहरू तथा विभिन्न झाँकीद्वारा स्वागत गरिएको थियो । साथै विद्यार्थीले बनाएको ड्रोनबाट पुष्पवृष्टि पनि गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदर्शनी आफैँमा राम्रो काम भएको, यसले विद्यार्थीमा रहेको क्षमतालाई बाहिर ल्याउने काम गर्ने विश्वास व्यक्त गरे । साथै उनले यस्ता कार्यक्रमले नियमितता पाउनुपर्नेमा पनि जोड दिएका थिए । त्यस्तै फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले स्थानीय पालिकाबाट हुने यस्ता कार्यक्रममा प्रदेश सरकार साथमा रहने पनि प्रतिबद्धता गरेका छन ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विज्ञान र प्रविधिको युगमा किताबी ज्ञानले मात्र पूर्ण नहुने बताउँदै नगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको बताए । नगरप्रमुख राईले २०८१/०८२ को स्वीकृत कार्यक्रमअन्तर्गत रहेको यस प्रदर्शनीले विद्यार्थीहरूमा नयाँ क्षितिज उघार्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद गीता तिम्सिना, जिसस मोरङका प्रमुख अजम्बर राई, बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइराला, नेकपा एकीकृत समाजवादी बेलबारी नगर अध्यक्ष भूपाल बस्नेतलगायतको मन्तव्य रहेको थियो ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य मधु गुरुङ, प्रदेश सांसदहरू ज्ञानेन्द्र सुवेदी, गीता तिम्सिना र जयप्रकाश चौधरी, जिसस मोरङका प्रमुख अजम्बर राई, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, बेलबारी नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख एलिना बस्नेत, नेपाल शिक्षक महासङ्घ बेलबारीका अध्यक्ष नरप्रसाद भण्डारी, मोरङ प्याब्सनका अध्यक्ष तथा माउन्ट एभरेस्ट इं स्कुलका प्रिन्सिपल जगतबहादुर बस्नेत, बेलबारी नगरपालिकाका विभिन्न विभागका प्रमुखहरू, बेलबारीमा रहेका विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा बेलबारीभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहेका छन् । विज्ञान विद्यार्थीहरूद्वारा निर्माण गरिएका हवाई जहाज तथा रोबर्ट आदिले कार्यक्रमको विशेष आकर्षण प्रदान गरेको छ । विभिन्न स्टलका साथै उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले विद्यार्थीहरूद्वारा तयार पारिएका विभिन्न जातीय संस्कारका खाद्यान्नका परिकारका स्टल राखिएको छ ।

कार्यक्रमलाई लिएर विभिन्न व्यक्तिहरू सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता कार्यक्रमको नियमितताको कामनासमेत गरेका छन् । बेलबारी नगरपालिकाका प्रवक्ता तथा ११ वडाका अध्यक्ष विक्रम राईको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन भने लक्ष्मी मावि, बेलबारी –११, लक्ष्मीमार्गका शिक्षक केदार पौडेलको रहेको थियो ।

फोटो – शिशिर राई

प्रतिक्रिया दिनुहोस्