उर्लाबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) नगर समिति उर्लाबारीको आयोजनामा भोलिदेखि ‘प्याव्सन स्पोट्स मिट २०८१’ सुरु हुने भएको छ । आज नगर प्याव्सनको कार्यालयमा पत्रकार सम्मेलन गरी नगर समिति अध्यक्ष सूर्य पौडेलले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने खेल उत्सवमा छात्रछात्रा भलिबल, छात्र फुटबल र फुटसल र एकल टेबल टेनिस (छात्र/छात्रा) खेलहरू हुने उहाँले बताउनुभयो । प्याव्सन आबद्ध नगरका २२ विद्यालयका झन्डै एक हजार विद्यार्थीले सहभागिता जनाउने प्रतियोगिता अन्तर्गत छात्रा भलिबलमा ८ टिम, छात्र भलिबलमा १० टिमको सहभागिता रहने अध्यक्ष पौडेलले बताउनुभयो ।
यस्तै, १५ वर्षमुनिका विद्यार्थीबिचको फुटबलमा १७ टिम, ५ कक्षासम्मका विद्यार्थी सहभागी हुने फुटसलमा ११ टिमको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । भलिबल र टेबलटेनिस उर्लाबारी–९ स्थित ओभल बोर्डिङ स्कुलमा, फुटबल अरनिको मावि उर्लाबारी–८ को खेलमैदानमा र फुटसल उर्लाबारी फुटसलमा हुने भएको छ ।
स्पोर्टस् मिट सम्पन्न गर्न ५ लाख ७० हजार ६० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको नगर प्याव्सनका कोषाध्यक्ष तथा खेलकुद कार्यक्रम संयोजक आनन्द कार्कीले जानकारी दिनुभयो । प्रवेश शुल्क र आन्तरिक संस्थागत कोषको प्रयोग गरेर खर्च गरिने उहाँले बताउनुभयो ।
नगर प्याव्सनले विगत वर्षदेखि नै यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष पनि निरन्तरता दिइएको निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार दिनेश पोख्रेलले बताउनुभयो । नगर स्तरीय प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने नगर सचिव लक्ष्मीप्रसाद (एलपी) राईले बताउनुभयो ।