पानवारी फाइनलमा प्रवेश : तेस्रो मच्छिन्द्र फुटबल कप


तृष्णा कुलुङ राई – केराबारी । पानवारी फुटबल क्लब, धरान तेस्रो मच्छिन्द्र फुटबल कपको फाइनलमा प्रवेश गरेको छ । केराबारी गाउँपालिका वडा नं.८ स्थित केराबारी रङ्गशालामा जारी बुधवार पहिलो सेमिफाइनल खेलमा बेलबारी फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । पहिलो हाफमा दुवै टिमको तर्फबाट गोल गर्न निकै सङ्घर्ष भएता पनि गोल विहीन सकिएको थियो । तर दोस्रो हाफमा भने खेलको निर्धारित समयको अन्तिम मोडमा पानवारीका जर्सी नं.१५ का खेलाडी ग्लोरीले गोल गर्दै टिमलाई फाइनलको यात्रा सुनिश्चित गर्न सफल भए ।

खेलको मेन अफ म्याच पानवारीका ग्लोरी नै घोषित भएका छन् । उनले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् । भोली बिहीबार आयोजक टिम केराबारी फुटबल क्लब र चात्या सा फुटबल क्लब, दमकबिच भिडन्त हुने छ । विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.३ लाख नगद पुरस्कार र उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.१ लाख ५० हजार प्राप्त गर्ने छन् ।

फोटो – शिशिर राई

प्रतिक्रिया दिनुहोस्