उर्लाबारी । उर्लाबारीमा पहिलो पटक प्रशिक्षण पूर्वाधारसहित ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ । आइतबारे स्थित नगरपालिका कार्यालय उत्तर राजमार्गसँगै रोयल ड्राइभिङ सेन्टर सञ्चालनमा आएको हो ।
‘सुरक्षित बनौँ, सुरक्षित तरिकाले सवारी चलाऔँ’ भन्ने मूल उद्देश्यसहित सरल र सक्षम प्रशिक्षकहरूबाट ड्राइभिङ तालिम दिइने रोयल ड्राइभिङ सेन्टरका सञ्चालक रफिक खानले बताए । उक्त ड्राइभिङ सेन्टर सात कट्ठा क्षेत्रफलमा फैलिएको छ । यहाँ प्रशिक्षार्थी महिलाहरूको सहजताका लागि महिला प्रशिक्षकबाटै ड्राइभिङ सिकाइने पनि खानले जानकारी दिए ।
प्रशिक्षार्थीलाई जिरो कोर्समा दक्ष बन्ने गरी सिकाइने उनले बताए । उनले भने, ‘हामी यहाँबाट सहज तरिकाले पास हुने गरी ट्रायल सिकाएर पठाउने छौँ । यहाँबाट सिकेर ट्रायल दिन जानुभएका अधिकांशले सजिलै सँग पास गर्नु हुनेछ ।’
यस ड्राइभिङ सेन्टरमा मोटरसाइकल, स्कुटर र लाइट गाडिहरूँ सिकाइने उनले बताए । कानुनी तथा व्यवहारिक सबै मापदण्ड पुरा गरी ड्राइभिङ सेन्टर खोलिएको पनि सञ्चालक खानको भनाई छ ।
आफ्नै ठाउँमा सीप सिक्न पाउँदा धेरै खर्च गरेर दमक, धरान, इटहरी, विराटनगरलगायत सहरमा जानुपर्ने बाध्यता हटेको भन्दै स्थानीयका लागि यही सीप सिकेर स्वरोजगार बन्न सक्ने तालिम केन्द्र खुल्नु खुसीको कुरा भएको उर्लाबारी ४ का वडाध्यक्ष कल्याणकुमार राईले बताए ।
सडकमा ड्राइभिङ सिकाउने प्रवृत्ति रहेको जनाउँदै अलग्गै संरचना बनाएर प्रशिक्षण दिने कार्यले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने स्थानीय देवी दाहालको भनाई छ ।