बेलबारीमा पुस २३ गतेदेखी पाँचौँ माघे सङ्क्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै 


तृष्ना कुलुङ राई – बेलबारी । माघे सङ्क्रान्तिको अवसरमा बेलबारीमा पाँचौँ माघे सङ्क्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । नक्सलबारी फुटबल क्लब बेलबारीको आयोजना साथै नेपाल मगर संघ बेलबारी र जनज्योति क्लबको संयोजनमा बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा पुस २३ गते देखी माघ १ गतेसम्म  प्रतियोगिता हुने भएको हो ।

आयोजकसहित ८ वटा फुटबल टिमको सहभागिता रहने जनज्योति क्लब बेलबारीका अध्यक्ष बुद्ध राईले जनाएका छन् । विजेतालाई नगद पुरस्कार रु.१ लाख १ हजार र उपविजेतालाई रु.५१ हजार प्रदान गर्ने राईले जनाएका छन् । सोमबार आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको हो ।

राईका अनुसार बेलबारी नगरपालिका, नक्सल सामुदायिक वन, सुनाखरी बहुउद्देश्यीय सहकारी संस्था साथै स्थानीयहरूको सहयोगमा प्रतियोगिता हुँदै छ । प्रतियोगिता सम्पन्न गर्न अनुमान खर्च रु.८ लाख रहेको राईले जनाएका छन् । संस्कृति संरक्षण साथै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित वार्षिक रूपमा प्रतियोगिता गर्दै आएका राईले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिका वडा नं.१ का अध्यक्ष मणि मगरले शुभकामना प्रदान गर्दै पाँचौँ माघे सङ्क्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगिताले सिङ्गो बेलबारीलाई नै चिनाउने काम गरेको बताए । वार्षिक रूपमा हुने माघे सङ्क्रान्ति खुल्ला नकआउट फुटबल प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने स्थानीय संघ, संस्था, व्यक्ति सबैलाई धन्यवाद प्रदान गर्दै पाँचौँ संस्करण पनि भव्यताका साथ सफल बनाउन सहयोग गर्न अध्यक्ष मगरले आग्रह गरेका छन् ।

फोटो फिचर – शिशिर राई

प्रतिक्रिया दिनुहोस्