तृष्ना कुलुङ राई – सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० प्रथम टोल लिगको उपाधि विराटचोक टोलले उपाधि हात पारेको छ । सुनरहरैँचा नगरपालिका वडा नं.१० स्थित सुकुना खेल मैदानमा जारी लिगको आइतबार भएको फाइनल खेलमा बागझोडालाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै विराटचोकले उपाधि हात पारेको हो ।
खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । निर्धारित समयमा दुवै टिमबाट गोल गर्न कडा सङ्घर्ष भएता पनि गोल विहीन खेल भए पछि ट्राइब्रेकरद्वारा निर्णय भएको थियो । ट्राइब्रेकरमा विराटचोकका खेलाडी दीपक भन्डार, किरण राजवंशी र सुदिप गुरुङले गरेको प्रहार गोलमा परिणीत भएको थियो । तर बागझोडाका खेलाडी अनमोल तामाङ, याया राई र सोनम तामाङले गोल गर्न सकेनन् । विराटचोकका गोलरक्षक हिमेन जिमीले ३ नै प्रहार रोक्दै टिमलाई उपाधि दिलाएका छन् ।
विजेता टिमले मेडल, ट्रफीसहित नगद पुरस्कार रु.२० हजार र उपविजेताले मेडल, ट्रफीसहित रु.१३ हजार प्राप्त गरेका छन् । खेलको मेन अफ द म्याच विराटचोकका गोलरक्षक जिमी घोषित भएका छन् ।
लिगको उत्कृष्ट गोलरक्षक जिमी नै घोषित भएका छन् । वेस्ट डिफेन्डरमा विराटचोकका सुरेश खत्री, वेस्ट मिडफिल्डर नेक्सन कार्की, वेस्ट फरवार्ड असीम क्षेत्री, सर्वाधिक गोलकर्ता सुदिप गुरुङ र उत्कृष्ट प्रशिक्षकमा प्रवीण ढुङ्गाना । साथै प्लेयर अफ द टुर्नामेन्ट बागझोडा टोलका अनमोल तामाङ र उदयमान खेलाडी खोर्साने टोलका आयुस लिम्बु घोषित भएका छन् ।
सुन्दर–खोर्साने युवा क्लबद्वारा आयोजित यस लिगमा विराटचोकसहित सुन्दरहरैँचा १० भित्रका ५ टिमको सहभागिता रहेको थियो । लिगमा विराटचोक टोल फुटबल टिम, बागझोडा टोल फुटबल टिम, एकता टोल फुटबल टिम, सुकुना टोल फुटबल टिम र खोर्साने टोल फुटबल टिम सहभागी थिए ।
फाइनल खेलमा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईँ, सुन्दरहरैँचा वडा नं. १० का अध्यक्ष राजकुमार राई लगायतको उपस्थिति रहेको थियो । पुस ९ गते देखी सुरु भएको खेल आज आइतबार क्लबका अध्यक्ष काजीहाङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।
फोटो फिचर – शिशिर राई