पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारद्वारा सात दिन राष्ट्रिय शोकको घोषणा


काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारत सरकारले सात दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोही अनुरूप शुक्रवार सबै सरकारी समारोह रद्द गरेको छ ।

पूर्व प्रधानमन्त्री सिंहको बिहीबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । भारतीय सरकारले शनिवार राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । अन्त्येष्टिका दिन शनिवार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झन्डा झुकाइनेछ ।

केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ । प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झन्डा झुकाउन निर्देशन दिएको छ । कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोक र सार्वजनिक बिदाको घोषणा गरेको छ ।

उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरूले शोक व्यक्त गरेका छन् ।मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो । पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरे र त्यसपछि अक्सफोर्डबाट पीएचडी गरे।

प्रतिक्रिया दिनुहोस्