भगवतीका पूर्व विद्यार्थीहरूको भेटघाट : विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता


बेलबारी । मोरङको बेलबारीमा रहेको भगवती पूर्व विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिका वडा नं.३ मा रहेको वि.सं. २०२१ पुस २१ गते स्थापित भई हाल १२ कक्षासम्म सञ्चालन भइरहेको भगवती मा.विका पूर्व विद्यार्थीहरूको भेटघाट कार्यक्रम बेलबारी २, लालभित्तीको सुदर्शन मल्टी–एग्रो रिसोर्टमा शनिवार सम्पन्न भएको हो ।

२०४२, ४३ र ४४ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीहरूको भेटघाट कार्यक्रममा पूर्व प्र.अ. तथा प्रतिनिधि सभाका सदस्य हर्कमान तामाङ, पूर्व प्र.अ. गङ्गाबहादुर श्रेष्ठ, पूर्व शिक्षकहरू फणीन्द्रप्रसाद निरौला, बोधराज नेपाल र अर्जुन विश्वकर्मा तथा वर्तमान वि.व्य.स. अध्यक्ष हेमसागर ढकाल अतिथि थिए । सहभागी पूर्व विद्यार्थीहरूमा भगवती माविका वर्तमान प्र.अ. नारायणप्रसाद आचार्यलगायत गोकुलचन्द्र राई, ईरानराई, राजकुमार राई, योगेन्द्रप्रसाद सुवेदी, राजेन्द्र थापा, खगेन्द्र रायमाझी, बोधराज निरौला, लक्ष्मी सुवेदी घिमिरे, गजेन्द्र राई, जसमणि राई, लालकुमार राई र राजकुमार कटुवाल थिए ।

सहभागी पूर्व विद्यार्थी तथा शिक्षकहरूले विगतको सङ्घर्षको स्मरण गर्दै भगवतीलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । पूर्व प्र.अ. हर्कमान तामाङ स्मरण गर्छन्, ‘त्यति बेला निजी स्रोतका शिक्षकहरू धेरै भएको तर तलब खुवाउने स्रोतचाहिँ नभएकोले दसैँछेका धेरै दुःख गरेर थोरै जोहो गरेको रकम नै जे जति हुन्छ दामासाहीले शिक्षकहरूलाई वितरण गर्दा आफ्नो भागमा कुनै वर्ष पर्दैन पनि थियो ।’

कार्यक्रमको अध्यक्षता कार्यक्रम–संयोजक राजकुमार राईले, सञ्चालन ईरानराईले तथा अतिथि शिक्षकहरूलाई खादा अर्पण राजेन्द्र थापा र खगेन्द्र रायमाझी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्